डेढ अर्बको लगानीमा सुरु भयो नेपाली स्वादमा हल्दिरामको उत्पादन, रोजगारी पनि बढ्ने
काठमाडौं । अब हल्दिरामका स्वादिला स्न्याक्सहरू सिधै नेपालमै बनेर तपाईंको हातमा पुग्नेछन् ।
सधैँझैँ भारतबाट आयात भएको भनेर चित्त बुझाउनु पर्ने दिनको अन्त्य हुने भएको छ । भारतीय ब्रान्ड हल्दिरामको चाखलाग्दो स्वाद अब नेपाली भूमिमा नै अत्याधुनिक संयन्त्रसहितउत्पादन हुँदैछ ।
अनान्दम् स्न्याक्स एन्ड बेभरेज इन्टरनेशनल प्रालिले भारतको हल्दिराम ब्रान्डसँग सहकार्य गर्दै नेपालमै उत्पादन सुरु गरिसकेको छ ।
कम्पनीले करिब १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी लगानी गरी सन् २०२५ को मार्चदेखि व्यवसायिक उत्पादन थालेको हो । यो लगानीमध्ये ७५ करोड रुपैयाँ कर्जा र बाँकी इक्विटी स्रोतबाट व्यवस्था गरिएको छ ।
कम्पनीले हालसम्म दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कूल १ अर्ब ३० करोड रुपैयाँको रेटिङ गराइसकेको छ । जसमा ८२ करोड दीर्घकालीन र ४८ करोड अल्पकालीन कर्जाका लागि छुट्याइएको छ ।
लाइसेन्स प्राप्त गरी कम्पनीले हल्दिराम ब्रान्डका विभिन्न लोकप्रीय उत्पादनहरू सुरु गरेको छ । कम्पनीले आलु भुजिया, मुङ दाल, पन्जाबी तड्का, नट क्र्याकर, स्न्याक लाइट, टकाटक नुडल्स, चिज बल, पापड लगायतको उत्पादन गर्दैछ । यसबाट उपभोक्ताले ताजा, सस्तो र गुणस्तरीय नेपाली उत्पादनको स्वाद लिन सक्नेछन् ।
दुई दशक लामो यात्रा, अब उत्पादनमा फड्को
डीभी ग्रुपद्वारा सञ्चालित कम्पनी अनान्दम् स्न्याक्स एन्ड बेभरेज इन्टरनेशनलमा करणप्रताप साह र विश्वनाथप्रसाद साहको लगानी छ । कम्पनीले विगत २० वर्षदेखि भारतबाट हल्दिरामका उत्पादन आयात गरी नेपालमा बिक्री वितरण गर्दै आएको थियो । अहिले भने नेपालमै उत्पादन आरम्भ गरेर नयाँ अध्याय सुरु गरेको छ ।
हाल कम्पनीसँग देशभर ८० भन्दा बढी डिलर नेटवर्क छ । यसले उत्पादन सहज रूपमा नेपाली बजारमा पुग्नेछ । ७० प्रतिशत स्वामित्व भारतीय ब्रान्ड हल्दिरामकै रहेको यो उद्योगले नेपालमा रोजगारी सृजना र आयात प्रतिस्थापनमा पनि टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
नेपालमा विदेशी ब्रान्डहरूसँग सहकार्य गरी उत्पादन विस्तार गर्ने यो खालको योजना नेपाली उद्योग क्षेत्रका लागि प्रेरणादायी बन्नेछ । यसले ‘नेपालमै बनेको, विश्वस्तरको उत्पादन’ भन्ने सन्देश पनि दिन खोजेको देखिन्छ ।


















