१ कार्तिक २०८३, आइतबार

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश



काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको आज ७० औं वार्षिकोत्सव मनाइँदैछ। सन् १९५५ अगष्ट १ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएका दुई देशबीचको सम्बन्ध आजदेखि ७० औं वर्षमा प्रवेश गरेको हो।

यस अवसरमा काठमाडौं र बेइजिङ दुबै शहरमा विविध कार्यक्रमहरू आयोजना गरी उत्सव मनाइँदैछ। यसै अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सङले काठमाडौंमा आज साँझ आयोजना गर्न लागेको स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम रहेको छ।

नेपाल–चीन सम्बन्धको ऐतिहासिक पृष्ठभूमि प्राचीन समयमै पुग्छ। तिब्बती राजा स्रोङचेन गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाहलाई दुई देशबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धको प्रारम्भ मानिन्छ। पछिल्लो सात दशकमा यो सम्बन्ध झनै मजबुत बन्दै आएको छ।

पूर्वराजदूत राजेश्वर आचार्यका अनुसार, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभुताको सम्मान र अहस्तक्षेप जस्ता पञ्चशीलका सिद्धान्तहरूमा आधारित दुईपक्षीय सम्बन्ध दुवै देशका लागि उच्च प्राथमिकतामा परेको छ। शीर्ष नेताहरूले सम्बन्ध अझ सुदृढ बनाउनेतर्फ निरन्तर पहल गरिरहेको उनले बताए।