भिसा नियममा कडाईः अब अमेरिका जाने विदेशी पर्यटकले १५ हजार डलर धरौटी तिर्नु पर्ने
काठमाडाैं । अमेरिकामा अवैध रूपमा बसोबास गर्ने विदेशी पर्यटकको संख्यामा कमी ल्याउन ट्रम्प प्रशासनले नयाँ नियम ल्याएको छ।
राष्ट्रिय सुरक्षा जोखिमको रुपमा व्याख्या गर्दै, अमेरिकाको राज्य विभागले सोमबार घोषणा गरेको एक पाइलट कार्यक्रमअनुसार केही देशका पर्यटक तथा व्यवसायिक भिसामा आउने आगन्तुकले अब भिसा अवधि सकिनु अघि देश नछाडेमा धरौटी जफत हुने गरी अधिकतम १५,००० डलरसम्मको धरौटी बुझाउनु पर्नेछ।
यो कार्यक्रम सन् २०२४ को चुनावमा अवैध आप्रवासन नियन्त्रणलाई मुख्य एजेन्डा बनाएका राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुरूप अघि सारिएको हो।
नयाँ नियमअनुसार ती विदेशी नागरिकहरूले कम्तिमा ५,००० डलर धरौटी बुझाउनुपर्नेछ, जसलाई भिसा अवधि समाप्त हुनु अघि अमेरिका छोडेमा फिर्ता दिइनेछ। तर, समयमै नछोडेमा धरौटी जफत हुनेछ। कुन देशका नागरिकहरू यो कार्यक्रमको दायरामा पर्नेछन् भन्ने विवरण खुलाइएको छैन, तर होमल्यान्ड सेक्युरिटी विभागको भिसा ओभरस्टे डाटाको आधारमा छनोट गरिनेछ।
संघीय रजिस्टरमा प्रकाशित हुन लागेको सूचनाले, २०२३ मा हवाई तथा समुद्री मार्ग हुँदै प्रवेश गरेका पाँच लाखभन्दा बढी व्यक्तिहरूले भिसाको अनुमति अवधि सकिएपछि पनि अमेरिका नछाडेको उल्लेख गरेको छ। यो कार्यक्रम एक वर्षसम्म लागू हुनेछ र ती देशका नागरिकहरूमा केन्द्रित गरिनेछ जहाँको ‘स्क्रिनिङ र भेरिफिकेसन प्रणाली’ कमजोर छ, वा लगानीको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूलाई पनि समेटिनेछ।
कन्सुलर अधिकारीहरूले भिसा आवेदनको मूल्याङ्कन गर्दै आवश्यक धरौटीको रकम निर्धारण गर्नेछन्।
कोरोना महामारीका कारण पहिलेको ट्रम्प कार्यकालमा यो कार्यक्रम सञ्चालनमा आउन नपाएको भए पनि, अब भने आगामी अगस्ट २० देखि लागू गरिने तयारी गरिएको न्युयोर्क टाइम्सले जनाएको छ ।
















