नेक्सजेन म्यानेजमेन्ट बन्यो पब्लिक कम्पनी, ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याउने
काठमाडौं । सम्पत्ति व्यवस्थापनको क्षेत्रमा सशक्त उपस्थिति जनाउने तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ ।
कम्पनीको २०८२ साल बैशाख २२ गते सम्पन्न विशेष साधारण सभाले पुँजी वृद्धि गर्दै निजी लिमिटेडबाट सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण हुने निर्णय गरेको थियो ।
त्यसअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयले २०८२ आषाढ २७ गते नेक्सजेनको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ५० करोड कायम गर्ने निर्णय गर्दै पब्लिक लिमिटेड कम्पनीको मान्यता दिएको छ । यससँगै कम्पनीले नियामक संरचना र पारदर्शिता कायम राख्दै थप सशक्त ढंगमा सम्पत्ति व्यवस्थापनको जिम्मेवारी लिन सक्ने बनाउने बाटो खुलेको छ ।
पूर्व बैंकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सञ्चालित यो कम्पनीको व्यवस्थापन नेतृत्व पूर्व बैंकर तथा पूर्व बीमा प्रमुख रमेशकुमार भट्टराईले सम्हाल्दै आएका छन् । कम्पनीले बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा, गैह्र बैंकिङ्ग सम्पत्ति व्यवस्थापन, तथा समस्या समाधानमा कर्पोरेट परामर्श सेवा प्रदान गर्दै आएको छ ।
सम्पत्ति व्यवस्थापनसम्बन्धी स्पष्ट कानुन नहुँदासमेत नेक्सजेनले विगत तीन वर्षदेखि निरन्तर खुद नाफा आर्जन गर्न सफल भएको छ । हाल नेपाल राष्ट्र बैंक र सरकार संयुक्त रूपमा सम्पत्ति व्यवस्थापन कम्पनी ऐन ल्याउने तयारीमा छन् । ऐनको प्रारम्भिक मस्यौदा तयार भए पनि पुँजीको सीमा निर्धारणबारे अझै अन्योल छ ।
छिमेकी मुलुक र अन्तर्राष्ट्रिय अभ्यास हेर्दा निष्कृय कर्जा व्यवस्थापन गर्न साना, मध्यम र ठूला सबै प्रकारका कम्पनीहरूको आवश्यकता देखिन्छ । नेपालको वित्तीय संरचना अनुसार “क”, “ख”, “ग”, “घ” वर्गका संस्थाहरूलाई टेवा पुर्याउने गरी विविध आकारका सम्पत्ति व्यवस्थापन कम्पनीहरू स्थापना हुनु आवश्यक देखिएको छ ।
नेक्सजेन म्यानेजमेन्टले यही आवश्यकता बुझेर प्रारम्भिक रूपमा एक अर्ब पुँजी कायम गर्ने निर्णय गरेको हो । भविष्यमा सर्वसाधारणको समेत सहभागिता बढाउने उद्देश्यले कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्याउने तयारीसमेत गरेको छ । साथै, कम्पनीले कार्यक्षेत्र विस्तार गर्दै विभिन्न सहायक कम्पनीहरू स्थापना गरी सम्पत्ति व्यवस्थापनको क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने स्पष्ट लक्ष्य लिएको जनाएको छ ।



















