सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ : उपमहासचिव ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई मुलुकको समृद्धितिर जोड्नुपर्ने बताए ।
च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले वन तथा वातावरण विभागले आज आयोजना गरेको ‘सामुदायिक वनको अवस्थाः चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सामुदायिक वनबाट समुदायलाई लाभ पुग्नुका साथै मुलुकको समृद्धितर्फ जोड्निुपर्ने धारणा राखे । ‘अब सामुदायिक वनले सिङ्गो वनजङ्गललाई संरक्षण गर्दै समृद्धिमा जोड्नुपर्दछ’, उनले भने,‘सरकार र सामुदायिक वन उपभोक्ता समितिबीचको सहकार्य र समन्वयमा वन सम्पदालाई समृद्ध गर्नुपर्दछ ।’
प्राकृतिक स्रोतमा राष्ट्रको स्वामित्वमा हुनुपर्ने बताउँदै त्यो स्वामित्वबाट जनताले लाभ पाउनुपर्नेमा जोड दिए । उपमहासचिव ज्ञवालीले सामुदायिक वनमा सरकार र स्थानीय समुदायको स्वामित्वमा सम्झौता नहुने बताउँदै दाउरा र स्याउला बान्नेलाई विस्तारै बिजुली र ग्यासमा बाल्नेतर्फ रुपान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे ।
समुदायिक वनबाटै समुदायलाई आर्थिक रूपमा सशक्त बनाउनुपर्ने भन्दै निजी क्षेत्रसँग साझेदारी गरेर सामुदायिक वनको उत्थानमा लाग्नुपर्ने धारणा राखे । सामुदायिक वनबाट कार्बन व्यापार गर्न सकिने धारणा राख्दै भने,‘दाउरा र घाँसपात पाइन्छ भनेर समुदायले वन जोगाएका हुन् । कार्बन व्यापारले संयुक्त राष्ट्रसङ्घबाट प्राप्त हुने पैसा पनि आउँछ भनेर समुदायलाई उत्प्रेरणा दिनसक्नु पर्दछ ।’
उनले सामुदायिक वनले समुदायको सहभागिता, विश्व वातावरणमा सन्तुलन, नागरिकको जीवनस्तर उकास्ने काम गरेकाले असाधारण योगदान रहेको चर्चा गरे ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले सामुदायिक वनका उपभोक्तालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए । ‘विकसित देशहरू हरेक विषयलाई आर्थिकसँग जोड्ने गरेकाले धनी भएका हुन्’, उनले भने,‘हिजो स्वयंसेवकका रूपमा समुदायिक वनलाई जोगाउनहरूले अब सशक्त हुँदै आर्थिक रूपमा समृद्ध बन्दै जानुपर्छ ।’
राष्ट्रपति चुरे–तराई संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले सामुदायिक वनलाई संरक्षण गरिसकिएकाले आगामी दिनमा फाइदा लिनुपर्ने बताए । समुदायलाई लाभान्वित हुनेगरी सामुदायिक वनबाट वस्तु उत्पादनतर्फ समुदायलाई जोड्नुपर्नेमा जोड दिए ।
सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले समाजवादको प्रवेश बिन्दु सामुदायिक वन भएकाले यसबाट अब उत्पादन हुने कार्य गर्नुपर्ने बताए । उनले सामुदायिक वनमा गरिबीदेखि धनी सबै पर्ने भन्दै समाजवादको आधार सामुदायिक वनको विकास र विस्तार गर्दै जानुपर्ने बताए । उनले सामुदायिक वनलाई ‘मर्ज’ गर्ने नीति सरकारले ल्याउन लागिएको भन्दै वनलाई मर्ज गर्न नहुने धारणा राखे ।
प्रगतिशिल वन प्राविधिक सङ्घमा उपाध्यक्ष मञ्जु घिमिरेले सामुदायिक वनलाई काठ, दाउरा, घाँसका रूपमा नभई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए ।












