१७ प्रतिशत बढ्यो जीवन बीमा कम्पनीको नयाँ व्यापार, कसले कति भित्र्याए ?
काठमाडौं । जीवन बीमा कम्पनीहरु नयाँ व्यवसाय भित्र्याउन तगडा देखिएका छन् । एकै वर्ष यस्तो व्यवसाय झन्डै १७ प्रतिशत बढाएका छन् ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीहरुले नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन १६.९६ प्रतिशत बढाएका छन् । गत आवमा कम्पनीहरुको कुल प्रथम बीमा शुल्क आर्जन ४० अर्ब १७ करोड ६० लाख रुपैयाँ पुगेको छ । जबकि, अघिल्लो आवमा भने यस्तो बीमा शुल्क ३४ करोड ३४ ला ९३ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीहरुले कुल व्यवसायको २२.१४ प्रतिशत प्रथम बीमा शुल्क आर्जन गरेका हुन् । गत आवमा ठुला जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
नयाँ व्यवसाय पनि नेपाल लाइफ इन्स्योरेन्सकै कब्जामा देखिएको छ । नेपाल लाइफले एकै वर्ष १० अर्ब ४९ करोड ५१ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ । यो अघिल्लो वर्षको तुलनामा भने ३०.८१ प्रतिशत धेरै हो । अघिल्लो आवमा कम्पनीले ८ अर्ब २ करोड ३० लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको थियो । नयाँ व्यवसायमा नेपाल लाइफको योगदान २६.१२ प्रतिशत हुन आउँछ ।
दोस्रो सूचीमा रहेको नेशनल लाइफले पनि ५ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १५.६७ प्रतिशत धेरै हो ।
तेस्रो सूचीमा भने सूर्यज्योति लाइफ छ । कम्पनीले नयाँ व्यवसायको आकार एकै वर्ष २१.१२ प्रतिशत बढाएर ३ अर्ब ६ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ । चौंथो स्थानमा रहेको एलआइसी नेपालले पनि १६.६४ प्रतिशत बढाएर ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ ।
गत आवमा अधिकांश कम्पनीहरुको नयाँ व्यवसाय बढेता पनि सन नेपाल लाइफको भने घटेको छ । सन नेपालको नयाँ व्यवसाय २५.५८ प्रतिशत घटेर १ अर्ब १६ करोड ४१ लाख रुपैयाँ कायम भएको छ ।
नयाँ व्यवसाय बढाउन भने प्र्रभू महालक्ष्मी र राष्ट्रिय जीवन बीमा कम्पनी तगडा देखिएका छन् । अघिल्लो आवको तुलनामा प्रभू महालक्ष्मीले नयाँ व्यापारको आकार ४६.९८ प्रतिशत बढेर १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । यता, राष्ट्रिय जीवन बीमा कम्पनीको पनि ४६.७० प्रतिशत वृद्धि भई १ अर्ब ११ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
प्राधिकरणका अनुसार हिमालयन लाइफको ८.९९ प्रतिशत बढेर २ अर्ब ८० करोड ३६ लाख, सिटिजनको ११.३६ प्रतिशत बढेर २ अर्ब १८ करोड ४३ लाख, एशियन लाइफको ११.०४ प्रतिशत बढेर २ अर्ब १४ करोड २४ लाख, रिलायवल नेपाल लाइफको प्रथम बीमा शुल्क पनि ११.०९ प्रतिशत बढेर १ अर्ब ६३ करोड ८८ लाख, आइएमई लाइफको ४.९५ प्रतिशत बढेर १ अर्ब ६८ करोड, सानिमा रिलायन्सको ३.८० प्रतिशत बढेर १ अर्ब ९४ करोड ८४ लाख रुपैयाँ कायम भएको छ ।

















