‘भिजन टू बिजनेस’ मा ढकाल दाजुभाइ : मौलाकालीमा केबलकारपछि रिसोर्ट, लगानी थप उचाइमा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

‘भिजन टू बिजनेस’ मा ढकाल दाजुभाइ : मौलाकालीमा केबलकारपछि रिसोर्ट, लगानी थप उचाइमा



९ महिनामै ८ करोड १० लाखको व्यापार, डेढ अर्ब कर्जाका लागि रेटिङ

काठमाडौं । पर्यटन व्यवसायमा पछिल्लो समय निजी क्षेत्रको सक्रियता तीव्र बन्दै गएको छ । यही लहरमा पूर्वी चितवन र पश्चिम नवलपरासीको सीमामा अवस्थित मौलाकाली केबलकारले पनि आफ्ना गतिविधिहरू बिस्तार गर्दै आएको छ ।

पछिल्लो समय लगानी, सेवा र ब्रान्ड विस्तारको रणनीति अपनाइरहेको देखिन्छ । केबलकार सञ्चालनको छोटो अवधिमै आम्दानी वृद्धि गरेको छ । यसका साथै कम्पनीले होटल तथा रिसोर्ट व्यवसायमा समेत पाइला टेकेको छ, जसले यसको बहुआयामिक विस्तार योजनालाई उजागर गरेको छ ।

संचालनमा आएको छोटो समयमै कम्पनीले उल्लेख्य व्यापार गरेको छ । आइएमई ग्रुपद्वारा सञ्चालित मौलाकाली केबलकारले चालु आर्थिक वर्ष सन् २०२४–२५ को पहिलो ९ महिनामा मात्रै ८ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यो रकम अघिल्लो वर्षको तुलना गर्दा उल्लेखनीय बढी हो । सन् २०२३ मा कम्पनीले २ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । तर, २०२४ मा यो बढेर १० करोड ७० लाख रुपैयाँमा पुगेको छ ।

व्यवसायिक रूपमा कम्पनीको दरिलो उपस्थिति रहेको आँकडाले देखाउँछ । यद्यपि, केबलकार प्रयोगकर्ताको संख्या भने अघिल्लो आवको तुलनामा केही घटेको देखिएको छ । कम्पनीका अनुसार फुटफलमा करिब १५ प्रतिशतले कमी आएको छ । यस्ता उतारचढावबीच पनि कम्पनीले आफ्नो सेवा विस्तारलाई प्राथमिकता दिएको छ।

हालै मौलाकाली केबलकारले ‘इला ब्रान्ड’ अन्तर्गत नयाँ होटल तथा रिसोर्ट सेवा सुरु गरेको छ । नवलपुरको गैँडाकोटमा अवस्थित यस रिसोर्टमा ६५ वटा कोठाहरू छन् । जसको प्रति कोठा औसत दर ५ हजार ५०० रुपैयाँ तोकिएको छ । यो होटल सन् २०२५ को मे महिनाबाट औपचारिक रूपमा सेवा सुरु गरिएको हो ।

आर्थिक क्षेत्रमा लगानी विस्तार गरिरहेको आइएमई ग्रुपले दीर्घकालीन योजना अन्तर्गत १ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको नेतृत्वमा रहेको समूहले हाल देशका विभिन्न स्थानमा केबलकार परियोजनाहरू सञ्चालनमा ल्याइसकेको छ । थप आयोजना विकासको चरणमा रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्