दोहोरो अंकमा व्यापार बढेपछि घोराही सिमेन्टको नोक्सानी घट्यो, यसरी सुधारिँदैछ वित्तीय अवस्था
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले वित्तीय अवस्था सुधार गर्दैछ । कम्पनीले नोक्सानी व्यापाक मात्रा घटाएको छ ।
कम्पनीले मंगलबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
अघिल्लो आवमा कम्पनीले १ अर्ब ४४ करोड ७० लाख रुपैयाँ नोक्सानीमा थियो । तर, गत आवमा आइपुग्दा भने ६६ करोड ३ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीले व्यापार विस्तारमा जोड दिएको छ । जसका कारण बिक्री आम्दानी दोहोरो अंकमा बढेको छ । गत आवमा कम्पनीले ५ अर्ब ५ करोड ८ लाख रुपैयाँको व्यापार गरेको छ । यो अघिल्लो आवको तुलनामा १२.७९ प्रतिशत धेरै हो । अघिल्लो आवमा पनि कम्पनीले ४ अर्ब ४७ करोड ७९ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
अघिल्लो आवमा कम्पनीको संचालन नाफा पनि ४७ करोड ४३ लाख रुपैयाँ ऋणात्मक थियो । तर, गत आवमा आइपुग्दा भने यस्तो नाफा ९ करोड ९ लाख रुपैयाँ धनात्मक छ ।
व्यापार वृद्धि र संचालन नाफामा आएको बढोत्तरीले नै कम्पनीको खुद नोक्सानी घटेको हो ।
हाल कम्पनीको चुक्ता पुाजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ छ । जगेडा कोषमा पनि ४ अर्ब ४ करोड १२ लाख रुपैयाँ राखेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १४.४६ रुपैयाँ ऋणात्मक छ । यता, प्रतिसेयर नेटवर्थ भने १८८.४७ रुपैयाँ कायम भएको छ ।













