१ कार्तिक २०८३, आइतबार

एससिओ शिखर सम्मेलनः ओली, मोदी र सी चिनफिङ एकै मञ्चमा देखिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणभन्दा अघि चीन भ्रमणमा जान लागेका छन्। उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन भदौ १४ गते चीन प्रस्थान गर्ने तय भएको छ।

एससीओ शिखर सम्मेलन भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) चीनको राजधानी बेइजिङमा आयोजना हुँदैछ। उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी हुनेछन्।

सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

शांघाई सहयोग संगठन (एससीओ) क्षेत्रीय स्थिरता र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा स्थापना गरिएको हो। हालसम्म यस संगठनमा १० सदस्य राष्ट्रहरू रहेका छन्, जसमा चीन, भारत, पाकिस्तान, रूस, इरान, बेलारुस, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान रहेका छन्।