अमेरिकामा ६००० भन्दा बढी विद्यार्थीको भिसा रद्द, नयाँ आवेदकमाथि थप कडाइ
काठमाडौं । अमेरिकामा ६००० अन्तर्राष्ट्रिय विद्यार्थीहरूकाे भिजा रद्दगरिएकाे छ । अमेरिकी कानून उल्लंघन र भिसा अवधि नाघेको कारण ट्रम्प प्रशासनले ६,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको बीबीसीले उल्लेख गरेकाे छ ।
भिसा रद्द हुनेमा हिंस्सा आक्रमण, मदिरा सेवन गरेर गाडी चलाउने, चोरी र आतंकवादको समर्थनमा संलग्न देखिएकाे बताइएकाे छ ।
रद्द गरिएका ६,००० विद्यार्थी भिसामध्ये करिब ४,००० भिसा भिसाधारीहरूले कानून उल्लंघन गरेको कारण रद्द गरिएको राज्य विभागले जनाएको छ। भने थप २००–३०० भिसा आतंकवादी गतिविधिलाई मानव जीवन जोखिममा पार्ने वा अमेरिकी कानून उल्लंघन गर्ने कार्य अन्तर्गत राखिएकाे छ ।
पछिल्लाे समय अमेरिकी ट्रम्प प्रशासनले विश्वविद्यालयहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गर्दै कडा भिसा नीतिहरू लागू गरेको छ।
ट्रम्प प्रशासनले विशेषगरी गाजामा जारी युद्धको विरोधमा प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गर्दै उनीहरूलाई यहूदीविरोधी र आतङ्कवादको समर्थन गर्ने आरोपमा भिसा रद्द गर्दै आएको छ।
अमेरिकी राज्य विभागले जुन महिनामा आफ्नो दूतावास र कन्सुलेटहरूलाई निर्देशन दिँदै नयाँ भिसा आवेदनकर्ताहरूको पृष्ठभूमि जाँच कडा पार्न भनेको छ। निर्देशनअनुसार भिसा आवेदनकर्ताहरूले आफ्नो सामाजिक सञ्जाल प्रोफाइल सार्वजनिक गर्नुपर्नेछ। सामाजिक सञ्जालमा पहुँच कम हुनु वा गोप्य राखिनु “गोप्य गतिविधि लुकाउने प्रयास” को रूपमा व्याख्या हुन सक्ने चेतावनी दिइएको छ।
यस नीतिको बचाउ गर्दै विदेश मन्त्री मार्को रुबियोले भने, “विद्यार्थी भिसा कुनै संवैधानिक अधिकार होइन। यो अमेरिका दिन वा नदिन सक्छ। यदि हामीलाई तपाईंका बारेमा पहिले जानकारी भएको भए भिसा अस्वीकार गर्ने थियौं भने पछि थाहा पाएपछि भिसा रद्द गर्नु किन नहुने?”
राज्य विभागका अनुसार सन् २०२४ को आर्थिक वर्षमा करिब ४ लाख एफ वान विद्यार्थी भिसा जारी गरिएका थिए। तर, नयाँ सर्तहरू लागू भएसँगै भिसा अपॉइन्टमेन्टहरू अस्थायी रूपमा स्थगित भएकाले यस वर्ष जारी हुने भिसाको संख्या निकै कम हुने अनुमान गरिएको छ।
यसले नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा ३०–४० प्रतिशतले गिरावट आउन सक्ने र जसले यो सिजनमा कुल विद्यार्थी संख्या १५ प्रतिशतले घटाउने विश्लेषण गरपएकाे छ।
यसले अमेरिकाकाे स्थानीय अर्थतन्त्रलाई समेत ७ अर्ब अमेरिकी डलरको क्षति पुर्याउनेछ र ६० हजारभन्दा बढी रोजगारी जोखिममा पर्नेछ। यदि जुलाई र अगस्ट महिनामा भिसा वितरणमा उल्लेख्य सुधार नभएमा, यस सिजनमा १ लाख ५० हजार विद्यार्थी अमेरिकामा आउन नपाउने अनुमान गरिएको छ।













