टीपीएस सुविधा : अमेरिका बस्ने नेपालीलाई फर्कन ६० दिने अल्टिमेटम, के हुन्छ साढे ७ हजारको भविष्य ?
काठमाडौं । अमेरिकाको संघीय पुनरावेदन अदालतले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सम्बन्धी ट्रम्प प्रशासनको निर्णयलाई स्वीकृति दिएको छ ।
योसँगै अमेरिकाले नेपाली नागरिकलाई दिएको टीपीएस सुविधा खारेज गर्ने बाटो खुला भएको हो ।
यस अघि अमेरिकाको संघिय जिल्ला अदालतको आदेशले नेपाल लगायत होन्डुरस र निकारागुआका ६०,००० व्यक्तिहरूको टीपीएस सुविधालाई निरन्तरता दिएको थियो भने डिएचएसका आदेशहरूलाई कम्तिमा २०२५ नोभेम्बर १८ सम्म स्थगित गर्ने आदेश दिएको थियो। यो निर्णय पुनरावेदन अदालतले उल्ट्याएको हो ।
१० वर्षभन्दा लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका नेपाली टीपीएस धारकहरूका लागि यो निर्णय ठूलो धक्का हो । अदालतले टीपीएस धारकहरूलाई ६० दिनको समय दिएको छ भने त्यसपछि उनीहरूको कानूनी स्थिति र कार्य अनुमति तुरुन्तै समाप्त गरिने छ।
अदालतको यस निर्णयसँगै अब टीपीएसका आधारमा अमेरिकामा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ ।
सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्प पश्चात अमेरिकाले नेपाली नागरिकहरूलाई अस्थायी सुरक्षित स्थिति प्रदान गरेको थियो।
टीपीएस एक ह्युम्यानीटेरियन कार्यक्रम हो, जसले अमेरिकी सरकारलाई असुरक्षित र प्राकृतिक प्रकोपबाट प्रभावित देशका नागरिकहरूलाई अस्थायी रूपमा अमेरिका बसोबास र काम गर्ने अनुमति दिन सक्षम बनाउँछ।
अमेरिकी गृह सुरक्षा विभागको २०२४ को तथ्यांक अनुसार हाल अमेरिकामा किरब ७ हजार ५०० नेपाली टीपीएस धारकहरू बसोबास गरिरहेका छन् ।
नेपालको टीपीएस कार्यक्रम सुरु हुँदा, २०१५ मा यस कार्यक्रम अन्तर्गत लगभग १५,००० नेपाली नागरिकहरू आएका थिए। त्यपछि धेरैले स्थायी इमिग्रेशन स्थिति (जस्तै, ग्रीन कार्ड) प्राप्त गरेका छन्, केहीले वैकल्पिक कार्य भिसा वा अन्य कानूनी मार्ग अपनाएका छन् भने, थोरै संख्या देश फर्किएका छन्।













