१३ कार्तिक २०८३, शुक्रबार

इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न रिकन्डिसन व्यवसायी संघको माग



काठमाडौं । नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघले सरकारले असोज १ गतेदेखि लागू गर्न लागेको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

संघका अध्यक्ष श्याममणि आचार्यद्वारा जारी विज्ञप्तिमा निर्णय आकस्मिक, अव्यवहारिक र पूर्वतयारीविहीन भएको भन्दै ८ बुँदे धारणा सार्वजनिक गरिएको छ ।

संघले हालको अवस्थामा इम्बोस्ड नम्बर प्लेट जडान जनसाधारणका लागि असम्भव भएको, व्यवसायीहरूलाई थप संकटमा पार्ने, तथा सरकारसँग पूर्वाधार, जनशक्ति र प्रणालीगत तयारीको अभाव रहेको औंल्याएको छ ।

साथै, थप शुल्क अस्वीकार्य, देवनागरी लिपिमा अक्षर अनिवार्य गरिनुपर्ने, र व्यवसायी तथा उपभोक्ताको सहमति विना निर्णय लाद्न नहुने बताउँदै संघले एकताबद्ध रुपमा आन्दोलनको चेतावनी समेत दिएको छ ।

वार्ताका लागि संघ तयार रहेको भए पनि, उपभोक्ता र व्यवसायीको हितविपरीत जाने निर्णय कुनै हालतमा स्वीकार्य नहुने चेतावनी संघले दिएको छ।