१३ कार्तिक २०८३, शुक्रबार

खोटाङमा विद्यालय भवन निर्माणमा अनियमितता, ३ जिशिअसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ स्थित लक्ष्मी माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार पूर्व जिल्ला शिक्षा अधिकारीहरू डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपालसहित प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू संलग्न रहेको आरोप छ ।

विद्यालयको चारकोठे भवनका लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख रुपैयाँ र २५ प्रतिशत जनश्रमदानसहित ३० लाख लागतको सहमति भए पनि भवन नबनाई पटक–पटक रकम निकासा गरिएको पाइएको आयोगको दाबी छ ।

डीपीसी मात्र तयार पारेर बाँकी संरचना निर्माण नगरी रकम हिनामिना गरिएको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।