१ कार्तिक २०८३, आइतबार

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णयले जनतालाई थप सास्ती बढायोः सांसद नेम्बाङ



काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय स्थगनकाे माग गरेका छन् ।

नेम्बाङले बुधबार प्रतिनिधि सभाको बैठकको शुन्य समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णयले जनतालाई थप सास्ती बढाएकाे भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘सवारी प्रयाेग गर्ने आम जनतामाथि पहिले नै धेरै भार छ । गाडी किन्न साथ उच्च कर, हरेक वर्ष अनिवार्य बीमा, सडक कर तिर्न लामो लाइन, लाइसेन्स बनाउन फारम, लाइन र लामो प्रतीक्षा, यहाँ जनताकाे तहबाट प्रश्न उठेका छन् ।’

इम्बोस्ड नम्बर प्लेट उद्देश्य के हाे ? के हामी पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति छन् ? उनले प्रश्न गरे ।

‘हजारौं नागरिकले वर्षौं कुर्दा पनि लाइसेन्स पाएका छैनन् भने कर तिर्न दिनभर लाइन बस्नुपरेको छ। यस्तो अवस्थामा इम्बोस्ड नम्बर प्लेट किन अनिवार्य गरिंदैछ? त्यसैले कार्यान्वयन स्थगित गरी पूर्वाधार तयार गरी चरणवद्ध रुपमा अगाडि बढाइयोस्’ उनले भने ।

त्यसैले उनले सरकारलाई तत्काल इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन स्थगित गरी आवस्यक पूर्वाधार, प्रविधि र जनचेतना सूनिश्चित गरेपछि मात्र चरणवद्ध रूपमा अघी बढाउन अपिल गरेका छन् ।