सस्तो कर्जाले बदलिँदै अटो बजारको गति: निजी सवारीमा चुलिँदै आकर्षण, गाडी किन्न कुन बैंकले कति दिए ऋण ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सस्तो कर्जाले बदलिँदै अटो बजारको गति: निजी सवारीमा चुलिँदै आकर्षण, गाडी किन्न कुन बैंकले कति दिए ऋण ?



काठमाडौं । नेपाली अटो बजार फेरि गतिमा फर्किन थालेको छ । लामो समयको सुस्तता पछाडि विस्तारै अटो बजार गतिशिल बन्दैछ ।सस्तो ब्याजदर र सहज कर्जाले सवारी खरिदमा नयाँ उत्साह भरेको छ ।

निजी सवारी साधन किन्न चाहनेहरूको चासो बढ्दो छ । बैंक तथा वित्तीय संस्थाहरू पनि हायर पर्चेज कर्जा प्रवाह गर्न झनै सक्रिय भएको देखिन्छ । नेपाल राष्ट्र बैंकबाट प्राप्तगत आर्थिक वर्ष २०८१–८२ को वार्षिक तथ्याङ्कले यस्तो देखाएको हो ।

एकै वर्षमा हायर पर्चेज शीर्षकमा ४ अर्ब ५९ करोड रुपैयाँ थप कर्जा प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो शीर्षकमा कुल १ खर्ब २४ अर्ब १० करोड रुपैयाँमा सीमित थियो । तर, गत वर्षसम्म आइपुग्दा भने कुल १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

अटो कर्जाको माग बढ्नुको मुख्य कारण निजी प्रयोजनका सवारी साधनमा देखिएको आकर्षण हो । राष्ट्र बैंकका अनुसार निजी सवारी कर्जा १५.६ प्रतिशत वृद्धि भई ४२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ३६ अर्ब ८४ करोड रुपैयाँ मात्र थियो ।

निजी प्रयोजनको कर्जा प्रवाह बढेपनि व्यावसायिक सवारी कर्जा भने घटेको देखिन्छ । व्यवसायिक प्रयोजनका लागि सवारी खरिदमा लिइने कर्जा सामान्य घटेको छ ।

गत वर्ष यो शीर्षकमा ८६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । तर, अघिल्लो वर्षको तुलनामा १.३२ प्रतिशतले कम हो ।
ब्याजदरमा आएको गिरावटले अटो बजार पुन: चलायमानमा ठूलो भूमिका खेलेको छ । अहिले बैंकहरूको औसत आधार दर ६.५ प्रतिशतसम्म झरेको छ । त्यसमा करिब १–१.५ प्रतिशतको प्रिमियम जोड्दा पनि गाडी खरिदका लागि ८ प्रतिशत हाराहारी ब्याजदरमै कर्जा पाइने अवस्था छ ।

हाल सवारी कर्जाको अधिकतम ब्याजदर १२ प्रतिशतसम्म भए पनि व्यवहारमा केही बैंकहरूले एकल अंकमा सीमित ब्याजमै कर्जा दिइरहेका छन् । ब्याजदर घट्दा मासिक किस्ता पनि सुलभ हुने भएकाले उपभोक्ताहरू सवारी खरिदमा आकर्षिक भएको देखिन्छ ।

कुन बैंकले कति दिए ?

वाणिज्य बैंकले प्रवाह गर्ने हायर पर्चेज कर्जा पनि ५.८२ प्रतिशत वृद्धि भएको छ । यस्तो शीर्षकमा बैंकहरुले कुल १ खर्ब ६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको ६ अर्ब २१ करोड ९७ लाख रुपैयाँ प्रवाह गरेका थिए ।

सवारी क्षेत्रमा सबैभन्दा ठुलो लगानी ग्लोबल आइएमई बैंकको १५ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको तु लनामा ११.४८ प्रतिशत धेरै हो ।

दोस्रो ठुलो लगानी नबिल बैंकको छ । नबिल बैंकले हायर पर्चेज शीर्षकमा ११ अर्ब ४३ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिलो वर्षको तुलनामा ५.७९ प्रतिशत बढी हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकले १० अर्ब ८० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

तेस्रो स्थानामा रहेको राष्ट्रिय वाणिज्य बैंकले पनि ९ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा भने ५२.६६ प्रतिशत धेरै हो ।

सवारी कर्जा बढाउने मामलामा भने एभरेष्ट बैंक पहिलो सूचीमा छ । बैंकले एकै वर्ष यस्तो कर्जाको आकार ५९.९२ प्रतिशत बढाएर ५ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ पुर्‍याएको छ ।

यस्तै, नेपाल एसबिआई बैंकले पनि ४६.६० प्रतिशत, कृषि विकासले ३८.३६ प्रतिशत, सानिमाले २३.१३ प्रतिशत, एनएमबिले १४.४८ प्रतिशत बढाएका छन् ।

यता, एनआइसी एशियासहित १० बैंकले भने यस्तो शीर्षकको कर्जा घटाएका छन् । गत वर्ष एनआइसी एशिया बैंकको हायर पर्चेज कर्जा ४०.१९ प्रतिशत घटेको छ ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड ३८.६० प्रतिशत, कुमारीको २८.२५ प्रतिशत, लक्ष्मी सनराइजको १३.८० प्रतिशत, माछापुच्छ्रेको १३.४ प्रतिशत, हिमालयनको ४.०२ प्रतिशत, सिद्धार्थको २ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.९० प्रतिशत, प्रभूको ०.६० प्रतिशत र सिटिजन्सको पनि ०.०६ प्रतिशत घटेको देखिन्छ ।

कुन बैंकले कति दिए ऋण ? (रकम दश लाखमा)


प्रतिक्रिया दिनुहोस्