११ श्रावण २०८३, सोमबार

कसले गरिरहेको छ षडयन्त्र ?



काठमाडौँ । किशोर तथा युवा पुस्ताको आन्दोलनको जगमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा आन्दोलनमा षडयन्त्र भएको विषय उठाइन् ।

भदौ २३ र २४ गतेबीच २७ घण्टाको आन्दोलनका दौरान नेपालका अपरिहार्य र अत्यन्त आवस्यक दस्तावेजहरु जलाइएको प्रति इङ्गित गर्दै उनले यस्तो भनेकि हुन् ।

उनले भनिन्, ‘मुलुकको अत्यन्त आवस्यक संस्थाहरुमा छानि–छानी प्रहार भएको छ । यो देखेर मलाई लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गर्ने हो भने तिनलाई नेपाली कसरी भन्ने ? यो घटना देशमा पहिलो चोटी भएको हो ।’

भौतिक रंरचनाको क्षति गरेको अवस्थामा त्यसलाई पुनःनिर्माण गर्न सकिने भए पनि कागजातहरुको पुनःभरण हुन नसक्ने उनले बताइन् । त्यसमाथि देशका सबैभन्दा महत्वपूर्ण स्थानहरुमा आगजनी भएको, काठमाडौँ र तराईका सबैजसो अदालतहरु ध्वस्त पारिएको जस्ता कारणबारे उनले सन्देह जनाएकी छिन् ।

उनले थपिन्, ‘हाम्रा संस्थाहरुलाई अनुहार देखाउन नसक्ने अवस्थामा पुर्याइएको छ । मलाई जहाँसम्म लाग्छ, यो एउटा नियोजित तवरले षडयन्त्रै भएको हो कि ? यो अनुसन्धान हुन बाँकी छ ।’

गएको चैत १५ को आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईले आइतबार दिउँसो सामाजिक सञ्जाल फेसबूकमा नेपाली सेनाका प्रधान सेनापतिलाई सम्बोधन गरेर एउटा लामो पोष्ट गरेका छन् ।

त्यहाँ उनले लेखेका छन्, ‘आन्दोलन देशको माटो र जनताको आवश्यकतामा आधारित हुनुपर्छ। विदेशी शक्तिको पैसा र निर्देशनमा चलाइने आन्दोलनबाट नेपाल र नेपालीको भाग्यमा दिगो परिवर्तन सम्भव हुँदैन। नेपाललाई प्रयोग गरी छिमेकी मुलुकहरू विरुद्ध षड्यन्त्र गर्ने कुनै पनि प्रयास हामीलाई स्वीकार्य छैन।’

जेनजी आन्दोलनको नेतृत्व गर्ने व्यक्ति फेला नगरिरहेको र यसका विभिन्न समूहबीच बादविबाद चर्किरहेकै बेला नयाँ नेता उदाएका छन्, सुधन गुरुङ । हामी नेपाली भन्ने एउटा गैरसरकारी संस्थाका प्रतिनिधिका रुपमा रहेका उनले आन्दोलनको पहिलो दिन आफूहरु आयोजक नरहेको, केवल आन्दोलनकारीलाई पानी लगायतका वस्तु उपलब्ध गराउने स्वयंसेवक रहेको भनेर सञ्चार माध्यमलाई दिएका अन्तरवार्ता बाहिर आएका छन् ।

तर २३ गतेको आन्दोलनका लागि जिल्ला प्रशाशन कार्यालयमा अनुमति माग्न जाने दुई जना युवाहरु अहिलेसम्म नदेखिएको भनेर सामाजिक सञ्जालमा उनीहरुको चर्को खोजि भइरहेको छ ।

तर तिनै सुधनले नेपाली सेनाका एक जना रथीलाई फोन गरेर दुई घण्टाभित्र सुशिला कार्कीलाई प्रधानमन्त्री घोषणा नगरे शितलनिवास घेराउ गर्ने र राष्ट्रपतिलाई नै घुमाउरो तरिकाले आक्रमण गर्ने भनी धम्की दिएका भिडियोहरु पनि सामाजि सञ्जालमा आएका थिए ।

कार्की प्रधानमन्त्री भएपछि ब्रिटेनले सबैभन्दा पहिलो स्वागत गरेको थियो भने निर्वाशित तिब्बती धर्मगुरु दलाई लामाले पनि स्वागत गरेका थिए ।

यी घटनाले पछिल्लो राजनीतिक परिवर्तन साँच्चै नेपाली युवाहरुको चाह अनुसार भएको थियो वा उनीहरुलाई कसैले प्रयोग गरिदिए भन्ने बारे सन्देहहरु प्रकट हुन थालेका छन् ।