दशैंको रौनकसँगै उपत्यकाबाट घरफिर्तीको लहर, २४ घण्टामै बाहिरिए ४३ हजार यात्रु
काठमाडौं । दशैंको जमरा राख्ने चटारो सुरु भएसँगै काठमाडौं उपत्यकाबाट मानिसहरू लस्करै गाउँ फर्किन थालेका छन् ।दशैंमा वर्ष दिनपछि घर आँगन पुग्न हतारिएका यात्रुहरूको चहलपहल राजधानीको सडकदेखि बसपार्कसम्म देखिन थालेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं छाडेर बाहिरिएका छन् । आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको तथ्यांक अनुसार त्यही अवधिमा करिब २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् ।
दशैं नजिकिँदै गर्दा उपत्यका छाड्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । घटस्थापनादेखि नै कलेज, निजी कार्यालय र विद्यालयहरूमा बिदा सुरु भइसकेकाले गाउँ फर्किनेको लहर तीव्र भएको हो । सरकारले भने दशैंको सार्वजनिक बिदा फूलपातीदेखि दिने व्यवस्था गरेको छ ।

गत भदौ २३ र २४ गते राजधानीमा भएको जेनजी आन्दोलनपछि केही समयको सुरक्षाको चासो देखिए पनि अहिले अवस्था सामान्य बन्दै गएको छ । सोही कारण पनि दशैं मनाउन गाउँ फर्किनेहरूको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

हाल उपत्यकाका प्रमुख नाका र नयाँ बसपार्क क्षेत्र सामान्य अवस्थामै रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यद्यपि, नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरोका कारण ४० घण्टासम्म सडक अवरुद्ध हुँदा सवारी चाप केही बढेको थियो । अहिले सडक खुलिसकेको र विस्तारै आवागमन सहज बन्दै जाने ट्राफिक अधिकारीहरूको भनाइ छ ।
दशैंको सुरुवातसँगै अब राजधानीको भीड पनि विस्तारै गाउँतर्फ सर्दैछ । टीकाको आशिष, ममताको काख र बाल्यकालका सम्झनालाई भेट्न लाखौं पाइलाहरू राजधानीको सडकबाट बिस्तारै छुट्दैछन् ।













