११ श्रावण २०८३, सोमबार

कार्की नेतृत्वका पाँच नयाँ मन्त्रीहरूको शपथ दिउँसो २ बजे



काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त पाँच मन्त्रीको शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ।

प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा संगीता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचना समितिका संयोजक मदन परियारलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् ।

यी पाँच जनाको शपथ ग्रहण दिउँसो २ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको हाे । नेपालको संविधानको धारा ८० मा प्रधानमन्त्रीको सिफारिसमा नियुक्त मन्त्रीहरूले राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कार्कीले आठ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेकी छन् ।जेनजी आन्दोलनको दबाबपछि बनेको अन्तरिम सरकारलाई पूर्णता दिन कार्कीले क्रमशस् दुई चरणमा विभिन्न मन्त्रीहरूलाई समावेश गरेकी हुन्।

पहिलो चरणमा प्रधानमन्त्री कार्कीले तीन नयाँ अनुहार अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रीमा कुलमान घिसिङ र गृह तथा कानून तथा संसदीय मामिलामा ओमप्रकाश अर्याल नियुक्त गरेकि थिइन्।

यी तीनै जना मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । हाल उनीहरु आ–आफ्नो मन्त्रालयको भूमिका काम कारबाही अगाडी बढाइसकेका छन् ।