मोरङ उद्योग व्यापार संघद्वारा प्रशासन र प्रहरी कार्यालयलाई सवारी साधन हस्तान्तरण
मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङ र जिल्ला प्रहरी कार्यालय, मोरङलाई दैनिक कार्य संचालनमा सहजीकरण होस् भन्ने अभिप्रायले चार पांग्रे र दुई पांग्रे सवारी साधनहरु हस्तान्तरण गरेको छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव मार्फत जिल्ला प्रशासन कार्यालयलाई एक थान ल्याण्ड रोबर जीप र प्रहरी उपरिक्षक कबित कटवाल मार्फत जिल्ला प्रहरी कार्यालय, मोरङलाई एक थान मोटरसाईकल हस्तान्तरण गरेका हुन् ।
गत भदौ २४ गते, जेनजी आन्दोलनका क्रममा घुसपैठ भई प्रशासन कार्यालयमा आगजानी र तोडफोड हुँदा कार्यालयका भौतिक पूर्वाधारहरु सहित सवारी साधनहरु ध्वस्त भएका थिए भने प्रहरीका सवारी साधनहरुमा समेत आगजानी भएको थियो । त्तपश्चात् कार्यालय संचालनमा कठिनाई हुँदै आएको छ ।
सवारी साधनहरु हस्तान्तरणका क्रममा संघका अध्यक्ष राठीले संघले सदैव सरकारी निकायहरुसँग निरन्तर रुपमा सहकार्य गर्नुका साथै शान्ति सुरक्षालाई प्राथमिकता राखी कार्य गर्दै आएको बताउँदै विगतका विषम परिस्थितिमा क्षतिग्रस्त हुन पुगेको स्थानीय प्रशासन र प्रहरी निकायलाई उक्त सवारी साधनहरु उपलब्ध गराएबाट जिल्लाका प्रशासनिक र सुरक्षा कार्यहरु प्रभावकारी रुपमा सुचारु गर्न मद्दत पुग्ने विश्वास लिएको बताए ।
सोही क्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले जिल्लाको शान्ति सुरक्षा र सुव्यवस्थापन अत्यन्त महत्वपूर्ण विषय रहेको हुँदा ती कार्यालयहरुका दैनिक कार्य सम्पादनमा सहजीकरण गर्न उक्त सवारी साधनहरु उपलब्ध गराइएको र आगामी दिनहरुमा समेत स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायहरुसँग संघले सहकार्यात्मक कार्यक्रमहरु संचालन गर्ने जानकारी दिए ।
कार्यक्रममा मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला उद्यमीहरु, युवा उद्यमीहरु, जिल्ला प्रशासन कार्यालय, मोरङ र जिल्ला प्रहरी कार्यालय, मोरङका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु समेतको उपस्थिति रहेको थियो ।













