एमालेलाई सरकारले दियो झड्का, काठमाडौँमा र्याली र सभा गर्न रोक
एमालेलाई सरकारले दियो झड्का, काठमाडौँमा र्याली र सभा गर्न रोक
काठमाडौं । सत्तापलटको एक महिनापछि सार्वजनिक मञ्चमा देखिन थालेका नेकपा एमाले नेताहरुले सरकारद्वारा गठित छानबिन आयोग र आगामी फागुन २१ को चुनावलाई पनि अस्वीकार गर्ने बताइरहेका बेला सरकारले पनि उक्त दललाई झड्का दिएको छ ।
नेकपा एमालेको सबैभन्दा सशक्त संगठन युवा संघलाई काठमाडौँमा र्याली तथा प्रदर्शन गर्न यहाँको जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।
युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको थियो । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनका गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने, दलका शीर्ष नेताहरुको सम्पत्ति छानबिन गर्ने, दलीय व्यवस्थालाई सकेसम्म कमजोर पार्ने कोसिस थालेपछि युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत र एमाले अध्यक्ष ओली सहितका नेताले प्रतिकार गर्ने उद्घोष गरेका थिए ।
यसै योजनाको एक हिस्साको रुपमा मोटर साइकल र्याली आयोजना गर्न लागेको युवा संघलाई प्रशासनको रोकले समस्यामा पारेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्याली, जुलुस तथा सभा गर्न अनुमति नदिइएको बताएका छन् ।
युवा संघले असोज २५ मा काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको थियो । त्यसका लागि तीनकुनेबाट मोटरसाइकल र्याली निकाल्ने तयारी भएको थियो । युवा संघ अध्यक्ष क्षितिज थेबेले पनि सरकारको कडा शब्दमा आलोचना गर्दै आएका छन् ।
उनले आफ्ना नेता तथा निवर्तमान प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने कोसिस भएमा जस्तोसुकै बलिदान दिन तयार भएको बताउँदै आएका थिए । एकातिर सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल जसरी पनि तत्कालै ओली र लेखकलाई पक्राउ गर्नुपर्ने मनस्थितिमा देखिएका छन् भने एमाले युवा संघको बलमा प्रतिरोधमा उत्रते तयारीमा छ ।
यस्तो बेला र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने भनेर प्रशासनले रोक लगाएको छ । अब प्रशासनको अनुमति बेगर नै युवासंघले र्याली आयोजना गर्नसक्ने र त्यसले मुटभेड निम्तिन सक्ने जोखिम पनि बढेको छ ।
यस्तो छ जिल्ला प्रशासन कार्यालयको सूचना –














