अमेरिका-चीन व्यापार युद्ध: चीनमाथि १३० प्रतिशत भन्सार घोषणा गर्दै ट्रम्पले गरे सीसँगको भेट रद्द
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। यो भन्सार दर हाल लागू ३० प्रतिशत भन्सारमाथि थप भएर १३० प्रतिशत नयाँ भन्सार नोभेम्बर १ देखि लागू हुनेछ।
यो कदम चीनले दुर्लभ खनिज निर्यातमा कडाइ गरेको प्रतिक्रियामा आएको ट्रम्पको भनाइ छ। उनले त्यस्तै सबै प्रकारका महत्त्वपूर्ण सफ्टवेयरमा निर्यात नियन्त्रण गर्ने निर्णय पनि गरेका छन्।
ती खनिजहरू मोबाइलदेखि कम्प्युटरसम्मका इलेक्ट्रोनिक सामान उत्पादनका लागि अत्यावश्यक मानिन्छन्।
यो घोषणा अमेरिका र चीनबीच लामो समयदेखि चलिरहेको व्यापारिक युद्ध पुनः तीव्र बन्ने सङ्केतका रुपमा हेरिएको छ ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएलगत्तै चीनसँग व्यापार युद्ध गरेका थिए। त्यतिबेला अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशतसम्म भन्सार लगाएको थियो। ट्रम्पसँगको व्यापार युद्धमा नझुकेको चीनले त्यतिबेला अमेरिकामाथि पनि १२५ प्रतिशत जबाफी भन्सार लगाएको थियो।
चीन झुक्दै नझुकेपछि स्वीटजरल्याण्डमा दुई देशबीच वार्ता भई ११५ प्रतिशत बिन्दुले भन्सार घटाउने सहमति गरेका थिए।
यसअघि ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दक्षिण कोरियामा अक्टोबरको अन्त्यमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन फोरमको शिखर सम्मेलनमा भेट्ने तय भएको थियाे तर दुई देशबीचकाे अवस्था पुनः तनावग्रस्त बनेसँगै ट्रम्पले यसै महिनाको अन्त्यतिर दक्षिण कोरियामा हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटघाट रद्द गरेको देखिन्छ।













