चीनमथि ट्रम्पको १०० प्रतिशत कर धम्कीले क्रिप्टो बजारमा ल्यायो १८ अर्ब डलरको गिरावट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चीनमथि ट्रम्पको १०० प्रतिशत कर धम्कीले क्रिप्टो बजारमा ल्यायो १८ अर्ब डलरको गिरावट



काठमाडाैं । चिनियाँ सामानमा थप १०० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पकाे घाेषणासँगै क्रिप्टो बजारमा १८ अर्ब डलरकाे गिरावट आएको छ ।

ट्रम्पको धम्कीले शुक्रबार राति क्रिप्टोकरेन्सी बजारमा ठूलो गिरावट ल्याएको र यसले बजारमा जोखिमपूर्ण लिभरेजको अवस्था देखाएको सिएनएनले उल्लेख गरेकाे छ।

यसबाट प्रमुख डिजिटल मुद्रा बिटक्वाइन, एथर र सोलाना जस्ता क्रिप्टोकरेन्सीहरू सबैभन्दा बढी प्रभावित बनेकाे बताइएकाे छ ।

क्वाइनग्लासको डेटा विश्लेषण प्लेटफर्म अनुसार शुक्रबार क्रिप्टोकरेन्सीहरूको कुल तरलिकरण (लिक्विडेशन) १८.२८ अर्ब अमेरिकी डलर पुगेको छ। याे ६ महिनायताकाे सबैभन्दा ठूलाे गिरावट हाे । बिटक्वाइन पाँच दिनमा लगभग १० प्रतिशत घटेको छ ।

पछिल्लो २४ घण्टामा बिटक्वाइनको लगभग ५ अर्ब अमेरिकी डलर, एथरको ४ अर्ब अमेरिकी डलर र सोलानाको २ अर्ब अमेरिकी डलर लिक्विडेशन भएको छ।

शुक्रबार एथरको मूल्य ४,३६५.६३ अमेरिकी डलर थियो भने ट्रम्पकाे उक्त घाेषणाासँगै एथरकाे मूल्यमा १४.२ प्रतिशतले गिरावट आएर ३,७४२.८८ अमेरिकी डलरमा झरेकाे छ ।

सोलाना शुक्रबार २२३.१० अमेरिकी डलरमा कारोबार भइरहेको थियो र अब १७८.७२ अमेरिकी डलरमा अर्थात २० प्रतिशत झरेको छ।

यस वर्ष ट्रम्पको कार्यकालको दौरान क्रिप्टोको बजारले महत्वपूर्ण लाभ उठाएको थियो । हालै ट्रम्पले डिजिटल सम्पत्ति जस्तै क्रिप्टोको 401(k) योजनामा समावेश गर्न अनुमति दिइएको एक कार्यकारी आदेश जारी गरेका थिए। जसले बिटक्वाइनलाई गत हप्ता १२४,००० अमेरिकी डलरको रेकर्ड उच्चमा पुर्याएकाे थियाे।


प्रतिक्रिया दिनुहोस्