स्थानीयको ‘फ्री सेयर’ दबाब, १० जलविद्युत् आयोजना निर्माणमा अवरोध - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

स्थानीयको ‘फ्री सेयर’ दबाब, १० जलविद्युत् आयोजना निर्माणमा अवरोध



काठमाडौं । देशभर निर्माणाधीन वा तयारी अवस्थामा रहेका १० वटा जलविद्युत् आयोजनामा स्थानीय बासिन्दाले नि:शुल्क सेयरको माग गर्दै अवरोध सिर्जना गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बुधबार पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएको हो ।

इप्पानका अनुसार बलेफी, मुनलाइट, सेवा, राइजिङ, गाउँघर उज्यालो, याम्बुलिङ, बलेफी इनर्जी, अपर बलेफी, नेसम खोला र सिता जलविद्युत् आयोजनामा स्थानीयको अवरोध देखा परेको छ । ती आयोजनाको कुल उत्पादन क्षमता २८२ मेगावाट बराबर रहेको छ ।

स्थानीयवासीले प्रभावित क्षेत्रका जनतालाई १० प्रतिशत नि:शुल्क सेयर उपलब्ध गराउनुपर्ने मागसहित सडक, विद्यालय, स्वास्थ्यचौकीजस्ता पूर्वाधारको विकास पनि आयोजना अनिवार्यरूपमा गर्नुपर्ने अडान राखेका छन् ।

ऊर्जा उत्पादक कम्पनीहरू भने नियमानुसार सेयर बाँडफाँट गर्न तयार रहेको तर कानुनले नि:शुल्क सेयरको व्यवस्था नगरेकाले यस्ता माग पुरा गर्न नसकिने बताउँछन् । ‘धितोपत्र बोर्डले समयमै आईपीओ स्वीकृति नदिँदा एकातर्फ समस्या थपिएको छ । अर्कातर्फ स्थानीयले गैरकानूनी माग राखेर आयोजना नै ठप्प पार्ने अवस्था आएको छ’ इप्पानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

इप्पानले अवरोधका घटनाले लगानीको वातावरण बिग्रिएको भन्दै सरकारले आयोजनाको सुरक्षार्थ विशेष नीति ल्याउनुपर्ने र आवश्यक परे सुरक्षाकर्मी परिचालन गर्नुपर्ने माग राखेको छ । साथै, प्रभावित क्षेत्रका जनतालाई १० प्रतिशत सेयर नियम अनुसार दिने प्रचलन रहे पनि नि:शुल्क वितरण भने कानुनविपरित हुने स्पष्ट पारेको छ ।

इप्पानले भन्यो,‘जलविद्युत् राष्ट्रको आर्थिक मेरुदण्ड हो, यसलाई अवरोध होइन, अगाडि बढाउने बाटो खुलाउनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्