नेपालकै महँगो मानिने युलेन्स स्कुलले गरायो ६५ करोड कर्जाका लागि रेटिङ, एकैवर्ष साढे ७७ करोडको व्यापार
काठमाडौं । नेपालका उच्चस्तरीय निजी शिक्षण संस्थामध्ये अग्रस्थानमा रहेको युलेन्स एजुकेशन फाउन्डेशन पछिल्लो समय विविध कारणले चर्चा र विवादको केन्द्रमा रहँदै आएको छ ।
सन् २००६ मा स्थापना भएको यो स्कुलले शिक्षा क्षेत्रमै महँगो शुल्क लिने संस्थाको छवि बनाएको छ । पछिल्लो समय स्कुलले गरेको वार्षिक कारोबारको तथ्यांक हेर्ने हो भने पनि युलेन्सले अझै आफ्नो व्यावसायिक उचाइ कायम राख्न सफल देखिन्छ ।
निवर्तमान परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएसँगै युलेन्सले नयाँ नेतृत्वमा प्रवेश गरेको छ । उनले काठमाडौं र ललितपुर दुवै शाखाबाट गत असोज ११ गते पदत्याग गरेकी हुन् ।
हाल आरजु राणाको राजीनामापछि स्कुलको अध्यक्ष पदमा सोमप्रसाद पेनेरु नियुक्त भएका छन्। स्कुल हाल बन्द अवस्थामा रहेको भए पनि व्यवस्थापनले पुन: सञ्चालनको तयारी गरिरहेको छ । युलेन्समा हाल १ हजार २०० विद्यार्थी अध्ययनरत छन् ।
स्कुलमा १५० दक्ष शिक्षक र ३०० कर्मचारी कार्यरत छन् । स्कुलको काठमाडौंस्थित भवन ४० हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । त्यसबाहेक, काभ्रेपलाञ्चोकको नालामा रहेको ‘लर्निङ सेन्टर’मा ७२ जना विद्यार्थी र ६ जना शिक्षक छन् ।
स्कुलले गत आर्थिक वर्षमा मात्रै ७७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । अघिल्लो वर्षमा पनि स्कुलले ७६ करोड ५० लाख बढीको व्यापार गरेको थियो । यस्तै, सन् २०२३ मा ७५ करोड ४० लाख कारोबार भएको केयर रेटिङ नेपालको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा स्कुलले पछिल्ला दुई वर्षमा ३२–३३ प्रतिशतसम्मको नाफा आर्जन गरेको दाबी गरिएको छ । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा स्कुलमा तोडफोड र आगजनी भएपछि युलेन्स थप चर्चामा आयो ।
न्दोलनकारीहरूद्वारा स्कुलमा लगाइएको क्षतिले केवल भौतिक संरचनामै नभइ आर्थिक र व्यवस्थापन पक्षमा पनि असर पारेको छ । स्कुलको क्यान्टिन, साइन्स ल्याब, आर्ट रुम, तीनवटा पुस्तकालय (२० हजार पुस्तकसहित), सभा हल, र अन्य संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको स्कुल प्रशासनले जनाएको छ ।
त्यस घटनाको प्रत्यक्ष असर स्कुलको कर्जासम्बन्धी रेटिङमा पनि परेको देखिन्छ । युलेन्सले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ६५ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । जसमा ६० करोड दीर्घकालीन र ५ करोड अल्पकालीन कर्जाका लागि हो । रेटिङमा ‘प्लेस्ड विथ क्रेडिट वाच विथ नेगेटिभ इप्लिकेशन’ उल्लेख छ । यसले जोखिम संकेत गर्छ ।













