युनिलिभर नेपालले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडाैं । युनिलिभर नेपाल लिमिटेडले आगामी कात्तिक २५ गते आफ्नो ३२ औं वार्षिक साधारणसभा बोलाएको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको हाे।
साधारण सभा कात्तिक २५ गते, मंगलबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा दिउँसो साढे ४ बजे शुरु हुनेछ।
सभाले प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदान लगायतका प्रस्तावहरु पारित गर्नेछ।
त्यस्तै, सभाले संस्थापक शेयरधनीको नामा सिबक्रिम होल्डिङ्गस प्राइभेट लिमिटेडबाट आईजे ग्रुप होल्डिङ्गस प्राइभेट लिमिटेडमा परिवर्तन भएकोले सोही अनुसार नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
यस अनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।













