१० श्रावण २०८३, आइतबार

आज लक्ष्मी पूजा : धनकी देवीलाई कसरी गर्ने स्वागत ?

आज लक्ष्मी पूजा : धनकी देवीलाई कसरी गर्ने स्वागत ?



हरियो गोबरले लिपेको
लक्षिमी पूजा गरेको
हे औँशी बारो, गाईतिहारो……..भैलो ।

यादव खरेलले लेखेको यो गीत शम्भुजित बास्कोटाको संगितमा लोचन भट्टराई र नूतन प्रधानले गाउँदा गौरी मल्ल छमछमी नाचेकी थिइन् । २०५४ सालमा रिलिज भएको फिल्म ‘स्वर्ग’मा यो गीत सुन्न र हेर्न पाइन्छ । यही गीतमा भनिएजस्तै सामान्यतया ‘गाई तिहारे औँशी’को राती लक्ष्मी पूजा गर्ने गरिन्छ ।

गाउँघरमा तुलसीको मठनेर गाईको गोबरले पोत्ने गरिन्छ । त्यसको एक छेउमा किलो गाढेर गाईको बाच्छीलाई बाँध्ने र पूजा गर्ने गरिन्छ । गाई पूजा गर्दाको दियो, कलश र गणेशलाई घरको मूल थामको ओरीपरि राखिन्छ । साँझ खानपिन गरेपछि जुठो चोख्याएर घर पोतिन्छ । त्यसपछि मध्येरातमा लक्ष्मी पूजा गरिन्छ । अमावश्यको अन्धकारमय यो रात लालटिनी, मैनटोलमात्रै होइन, मसाल (ढुंग्रे बत्ति) वा अगुल्टो हल्लाएरै पनि छामछाम–छुमछुम गर्दै भैलो खेल्ने नेपाली चलन थियो ।

शाक्त परम्परामा देवीको आरधना मध्येरातमा गरिन्छ । दशैँमा कालारत्रीजस्तै । महालक्ष्मीको आरधना पनि मध्येरातमा गर्नुपर्ने चलन छ । त्यसपछि सक्नेले रातभर जाग्राम बस्ने गर्छन् । हरिकीर्तन गर्ने चलन पनि छ । यसैदिन द्यौसी, भैलो खेल्ने टोलीहरु आउँछन् । नाचगान गर्छन् । गाउँघरमा रातभरी बसेर सेलरोटी पकाउने चलन पनि छ ।

तर अचेल तिथिको घटबढले यो साल पनि लक्ष्मी पूजा आजै अर्थात् कुकुर तिहारकै दिन गर्नुपर्ने भएको छ । आज दिउँसोदेखि चतुर्दशी सकिएर औँशी तिथि आरम्भ हुने छ । औशी तिथि भोलिसम्म मात्रै रहन्छ ।

देवी महालक्ष्मीको शक्ति आरधना गर्दा मध्येरातमा जाग्राम बस्ने चलन छ । यही जाग्रामलाई सहयोग पुर्याउन र सुतेका भक्तजनलाई पनि जगाउन भनेर यस रात भैलो खेल्ने चलन सुरु भएको हो । माता महालक्ष्मीकै स्वरुप मानिने कुमारी कन्याहरुले घरघरमा पुगेर भैलो घन्काउँछन् । उनीहरुलाई कार्तिक दान गरेर भक्तजनले पून्य कमाउँछन् ।

तिहारको यही रोमाञ्चक संरचना अनुसार औँशीको रातमा माता महालक्ष्मीको आरधना गर्न लक्ष्मी पूजा गर्ने, दीपावली गर्ने र रातभर श्रीसूक्त लगायतको पाठ गर्ने, नवार्ण मन्त्र र अन्य लक्ष्मी मन्त्र तथा कुवेर र गणेशका मन्त्रहरु जप गर्ने गरिन्छ ।

लक्ष्मी पूजामा माता लक्ष्मी र उनका सुपुत्रका रुपमा भगवान श्रीगणेश जीलाई पनि सँगै पूजा गरिन्छ । धनको देवता कुवेरको पनि पूजा हुन्छ । तर आर्यहरु कुवेरलाई ‘लोभी’ मान्दछन् । त्यसैले लक्ष्मीको आदेशमा पनि कुवेरले कञ्जुस्याईँ गर्ने भन्दै गणेशको गुहार लगाएर प्रसस्त धन दौलत एवम् ऐश्वर्यको कामना गर्ने गरिन्छ ।

दीपावली लक्ष्मी पूजाकै एक अंश हो । लाटोकोसेरोलाई बहान बनाएर अँध्यारो रातमा संसारको भ्रमण गर्नेवाली माता महालक्ष्मीलाई स्वागत गर्न मानिसहरुले घर, कोठा, चौकोस, बाटो, मठ सबैतिर उज्यालो पार्छन् । यसका निम्ति दीपावली गर्ने गरिएको छ । दीपावली भने सूर्यास्त लगत्तै वा गोधुली साँझमा गरिन्छ । तुलसाको मठबाट वा घरमा रङ्गोली वा मण्डला बनाएर त्यहीँदेखि माताका पाइला बनाउँदै पूजास्थलसम्म पुर्याइन्छ । यी रङ्गोली वा मण्डला भनेको माताका लागि तयार पारिएको ‘हेलिप्याड’जस्तै हुन् ।

दीपावली र भेद

हिन्दु समाजमा मूलत: दुई भेद छ । एउटा वैष्णव र अर्को शैव–शाक्त परम्परा । भारतको काँशी र गङ्गा मैदानमा वैष्णव संस्कृतिले जरा गाढेको छ । त्यसै कारण उनीहरु आफ्ना परम्परालाई ‘वैदिक’ भन्छन् । हिमालय क्षेत्रका नेपालसहित उत्तरी भारतको परम्परालाई ‘तान्त्रिक’ भन्ने गरेका छन् । तिब्बत, भुटान पनि तान्त्रिक क्षेत्रमै पर्छन्, भलै अचेल त्यहाँ हिन्दुभन्दा बौद्धमार्गी धेरै भएका छन् ।

अर्कातर्फ वैष्णवहरु समय–चक्रमा पनि भिन्नता देखिन्छन् । उनीहरु मूलत: त्रेता युग र रामलाई महत्व दिन्छन् । शैव–शाक्त परम्परामा सत्यगुगका घटनालाई ज्यादा महत्व दिइएको पाइन्छ । यी कारणले भारत र नेपालका कयौँ परम्परामा भिन्नता छ । यसैको उपज हो, हाम्रा दशैँ, तिहार ।

दशैँमा भारतमा श्रीरामले रावणसँग ‘युद्ध जितेको दिन’ भनेर विजया दशमी मनाइन्छ । दशैँलाई दशहराको रुपमा मनाइन्छ । तर नेपालमा माता दुर्गाको आरधना गरिन्छ । सत्ययुगमा कयौँ महाबली दानवहरुको संहार गरेको कथा प्रसंग जोडेर दुर्गाको आरधना गरिन्छ ।

त्यस्तै दीपावलीको सम्बन्धमा पनि यही भेद छ । भारतमा राम लंकाको युद्ध जितेर अयोध्या आइपुगेको दिन दीपावली गर्ने भन्छन् । तर नेपालमा माता महालक्ष्मीको स्वागतमा दीपावली गरिन्छ । यसले पनि भारतीय वैष्णव परम्परामा पुरुष प्रधानतालाई पुजिन्छ भने नेपाली शैव–शाक्त परम्परामा नारी शक्तिलाई ज्यादा पूजिन्छ ।

यसैले नेपाल र नेपाली भाषा तथा संस्कृतिको प्रभाव परेको स्थानमा मातृशक्तिको पूजा गरिन्छ । भारतको पश्चिम बंगालमा पनि मातृशक्ति पूजा गर्ने चलन छ । पछिल्लो समय मानिसहरुमा धन पैसाको महत्व बढ्दै गएको छ । यसले भारतमा पनि माता लक्ष्मीको पूजा गर्ने प्रबृत्ती विस्तारै बढ्न थालेको छ ।

कसरी भित्र्याउने लक्ष्मी ?

घरमा अन्न धेरै भित्रियोस् भनेर लक्ष्मीको पूजा गरिन्छ। घरघरमा लक्ष्मी भित्र्याउन आँगनको तुलसाको मठदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिड्ने बाटो तयार गरिन्छ। त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुत्लामा बत्ती बाल्ने गरिन्छ। शहरी क्षेत्रमा भने रङ्गोली र मण्डलाहरु बनाएर लक्ष्मीस्थानसम्म यस्तै बाटो बनाउने चलन छ ।

बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरको चारैतिर सफा सुग्घर गरी आँगन, दैलो, सङ्घार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङ लगायतका ठाउँमा बत्ती बाली लक्ष्मीपूजा गरिन्छ । जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्नेभन्दै लक्ष्मी पूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ ।

यसै आधारमा आजको दिन सम्पूर्ण हिन्दु नेपालीले धनकी देवी महालक्ष्मीको पूजा र दीपावली गर्ने परम्परा रहेको हो । लक्ष्मी पूजाको रात घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ।

त्यसैले घरका झ्यालढोका बत्ती बालेर झकिझकाउ पारिन्छन् । बत्ती बालेपछि लक्ष्मीमाता स्थापना गरिन्छ । घरमा भएका गरगहना, पैसा, चामल, फलफूल, सेलरोटी, फूलमाला आदि सामग्री चढाएर लक्ष्मीको पूजा अर्चना गरिन्छ ।

लक्ष्मीपूजाका दिन गरगहनाको पूजा गरिने भएकाले बजारबाट सूनचाँदी लगायत धनमाल किन्ने चलन छ । थन्क्याएर राखिएका पूराना गरगहना समेत आज झिकेर लक्ष्मी स्थापना गरिएको कोठामा विधिपूर्वक राखी पूजा गरिन्छ । घरमा भएका तामा आदी बहुमूल्य धातुका भाँगाकुँडा, खड्कुलो, गाग्री लगायतलाई राखेर धान, चामलको आशन राखेर पूजास्थल बनाइन्छ । कतै पाञ्चायन, लक्ष्मीपादुका वा माता लक्ष्मीका तस्वीरहरु राखेर पनि पूजा गरिन्छ ।

मनिसहरुले आफूसँग भएका गरगहनाका साथै नगद पैसा, खुत्रुकेदेखि बजारबाट किनेको असर्फी (सुनको सिक्का) लगायत मूल्यवान् सम्पत्ति तथा रत्न आभूषणको पूजा गर्ने गर्छन् । यस रात घरमा ढोका बन्द गर्नु हुँदैन भन्ने पुरानो चलन थियो । अचेल चोरी चकारी बढेपछि मान्छेहरुले ढोका खुल्ला राख्न छाडेका छन् ।

आज गाउँघर, शहर बजारका घरघरमा केराको बोट गाढेर, घर सजाएर लक्ष्मीपूजा गरिने हुँदा केराको बोटको बिक्री अत्याधिक हुने गर्दछ । मानिसहरु गाउँगाउँबाट केराको बोट ल्याएर शहरमा बिक्री गर्ने गर्दछन् । केरालाई पवित्र र स्वास्थ्यवर्धक फल मानिन्छ । माताको पूजका क्रममा केरा प्रसादको रुपमा पनि चढाइन्छ ।

अविवाहित स्त्री र सधुवा महिलाले लक्ष्मीपूजाको दिन सौभाग्यका सामग्री र घुम्टो पनि चढाउँछन् । यसो गर्दा आफ्नो सिन्दुर जीवनभर नपुछियोस् भन्ने आशीर्वाद पाइन्छ भनेर विस्वास गरिन्छ । माताको पूजा सकेपछि श्रीसूक्रको पाठ, दुर्गा सप्तसतीको पाठ, सिद्धकुञ्जिका स्तोत्रको पाठ, हिरण्यगर्भ स्तोत्रको पाठ र नवार्ण मन्त्रको जप आदि गर्ने गर्छन् । कतिपयले हरिकीर्तन पनि गाउने गर्छन् ।

लक्ष्मी पूजाको अवसरमा आज मानिसहरुले घरमा लक्ष्मीको पूजा गर्ने, घर सफासुग्घर राखी रङ्गीचङ्गी बिजुलीका बत्तिबाट झकिझकाउ पार्ने तथा दियो बाल्ने परम्परा छ । ग्रामीण क्षेत्रका बालबालिका सन्ठीको विडो बनाएर हुकाहुकी खेल्ने चलन छ ।

जुवा खेल्ने कौडा, शङ्ख र समुद्रबाट प्राप्त हुने जुनसुकै वस्तुलाई पनि माता लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने चलन छ । पहिले राजाका पालामा लक्ष्मी पूजामा कौडा खेल्ने छुट दिइन्थ्यो । तर यसले कतिपय मानिसलाई कंगाल बनाइदिएको र परिवारहरु नै तबाह भएको भनेर प्रशासनले रोक लगाएको छ ।