मैदा, आँटा र सुजी उत्पादनमा स्वस्तिकको फड्को, एकै वर्ष १ अर्ब २९ करोडको व्यापार
काठमाडौं । सुनसरीमा अवस्थित स्वस्तिक फ्लोर मिलले व्यवसाय सुरु गरेको करिब एक वर्षमै उल्लेखनीय कारोबार गर्न सफल भएको छ ।
स्थापना भएको छोटो अवधिमै कम्पनीले सवा अर्ब बढीको कारोबार गरेको हो । कम्पनी सन् २०२३ को सेप्टेम्बरबाट व्यावसायिक उत्पादनमा आएको थियो ।
स्वस्तिकले गत आर्थिक वर्ष १ अर्ब २९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । एक वर्षमै कम्पनीको व्यापार ५७.२८ प्रतिशत वृद्धि भएको छ । सन् २०२४ मा कम्पनीले ८२ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
सन् २०२१ मा दर्ता भएको यस कम्पनीले गहुँ प्रशोधन गरी मैदा, आँटा, सुजी र चोकर उत्पादन गर्दै नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले १ केजीदेखि ५० केजीसम्मका प्याकेजमा आफ्ना उत्पादन वस्तु बजारमा पठाउँदै आएको छ ।
उद्योगले वार्षिक ६ हजार ६ सय मेट्रिक टन क्षमताको मैदा मिल सञ्चालन गरिरहेको छ । यस्तै, सुजी उत्पादनको वार्षिक क्षमता २ सय ४० मेट्रिक टन र आँटा उत्पादन क्षमता ३ हजार १ सय ६० मेट्रिक टन रहेको कम्पनीले जनाएको छ ।
कच्चा पदार्थका रूपमा आवश्यक गहुँ कम्पनीले आन्तरिक बजारसँगै विदेशबाट समेत आयात गरी प्रशोधन गर्दछ । कम्पनीमा सात जना सदस्य छन् । संस्थाको नेतृत्व अध्यक्ष हेमन्तकुमार अग्रवालले गरिरहेका छ् ।
कर्जाको हिसाबले पनि कम्पनीको वित्तीय स्थिति मजबुत बन्दै गएको छ । स्वस्तिक फ्लोर मिलले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ७४ करोड ५९ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । जसअन्तर्गत दीर्घकालीन कर्जा तर्फ २४ करोड ५९ लाख र अल्पकालीन तर्फ ५० करोड रुपैयाँ रहेको छ ।













