१० श्रावण २०८३, आइतबार

काठमाडौँदेखि पूर्वतिर शनिबार विहानसम्मै पानी पर्ने संभावना, कुन जिल्ला बढी जोखिममा ?

काठमाडौँदेखि पूर्वतिर शनिबार विहानसम्मै पानी पर्ने संभावना, कुन जिल्ला बढी जोखिममा ?



काठमाडौँ । आगामी विहीबारदेखि शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरब सागरबाट आएको बादलले पहाडी तथा हिमाली क्षेत्रको मौसम विगारिरहेका बेला अब बङ्गालको खाडीबाट अर्को पानी पार्ने बादल नेपाल छिर्दै छ । त्यस क्षेत्रमा विकसित चक्रवात ‘मोन्था’ मंगलबार राती भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने र त्यहाँबाट उत्तर सर्दै वीरगञ्जकै बाटो भएर नेपाल छिर्ने अनुमान गरिएको छ ।

उक्त चक्रवातले ठूलो मात्रामा वर्षा गराउने बादल सिर्जना गरेर नेपालतर्फ धकेलिरहेको छ । यो बादल विहीबारसम्म नेपाल आइपुग्ने अनुमान छ । यस कारण विहीबार दिउँसोदेखि शनिबार विहानसम्मै नेपालको काठमाडौँ उपत्यका र यसदेखि पूर्वको क्षेत्रलाई प्रभावित पार्ने अनुमान गरिएको छ ।

यो प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेश र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

यी हुन् जोखिमका क्षेत्र

हालको विश्लेषण अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी तथा यिनका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्नसक्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरुमा आकस्मिक बहाव हुन (बाढी आउन) सक्ने सम्भावना रहेको महाशाखाले बताएको छ।

विशेषगरि बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली जिल्लाका विभिन्न स्थानमा पानी पर्ने संभावना देखिएको छ ।

मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेहधूम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने महाशाखाले जनाएको छ।