दुर्गा प्रसाईंले गरे मङ्सिर ७ देखि देशव्यापी आन्दोलनको घोषणा
दुर्गा प्रसाईंले गरे मङ्सिर ७ देखि देशव्यापी आन्दोलनको घोषणा
काठमाडाैं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आगामी मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।
बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै आन्दोलन गर्ने बताएका हुन् ।
आन्दोलनमा कुनै पनि प्रकारकाे आगजनी, ताेडफाेड, हत्या हिंसा नहुने स्पष्ट पारेका छन् । साे अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ वटै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा सञ्चालन हुने उनले बताए।
‘मङ्सिर ७ गते दिल्लीमा दलहरू र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता भएको दिन हो। त्यही सम्झौताका कारण देशमा राजसंस्था समाप्त भयो, हिन्दु अधिराज्य समाप्त भयो, र आज नेपाली नागरिक विदेश गएर देश खाली भएको तथा विदेशीहरूको प्रभावमा एनजीओ र आईएनजीओहरूले सरकार चलाएका छन्’ उनले भने ।
उनले सबै नेपाली नागरिकलाई व्यवस्था परिवर्तनको लागि तयार हुन र मङ्सिर ७ गतेको आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेका छन् ।













