जेनजी आन्दोलनको कहर : दुई महिनादेखि छैन नयाँ आइपीओ स्वीकृति, ७५ कम्पनीहरु पाइपलाइनमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी आन्दोलनको कहर : दुई महिनादेखि छैन नयाँ आइपीओ स्वीकृति, ७५ कम्पनीहरु पाइपलाइनमा



काठमाडौं । जेनजी आन्दोलनपछि कुनै पनि कम्पनीले आइपीओ निष्कासन अनुमति पाएका छैनन् । गत २३ र २४ गतेको आन्दोलनपछि नै आइपीओ निष्कासनको अनुमति ठप्प नै छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार ७५ वटा कम्पनीको सवा ५४ अर्बको आइपीओ पाइपलाइनमा छन् । आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको पनि करिब दुई महिना पुग्न थालेको छ । तर, हालसम्म कुनै पनि कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएका छैनन् ।

बोर्डले अन्तिम पटक अर्थात् गत भदौ १७ गते एसवाई प्यानल नेपाललाई आइपीओ निष्कासनको अनुमति दिएको थियो । चालु आर्थिक वर्ष सुरुभएदेखि हालसम्म बोर्डबाट तीन वटा मात्रै कम्पनीले आइपीओ अनुमति पाएका छन् । बोर्डबाट सागर डिस्टीलरी, श्रीनगर एग्रिटेक र एसवाई प्यानलले अनुमति पाएका हुन् । तर, त्यसबाहेकका आइपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका ७५ कम्पनी भने अझै पर्खाइमै छन् ।

बोर्डका अनुसार विभिन्न क्षेत्रका ७५ वटा कम्पनीको ५४ अर्ब १५ करोड ३१ लाख ८७ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमति रोकिएको छ । हाल ती कम्पनीहरु पाइपलाइनमै छन् ।

बोर्डका अनुसार आइपीओ निष्कासन अनुमतिको पर्खाईमा सबैभन्दा धेरै जलविद्युत क्षेत्रका कम्पनीह छन् । हाल ३७ वटा जलविद्युत कम्पनीहरुले आइपीओ निष्कासनका लागि बोर्डमा निवेदन पेश गरेका छन् । ती कम्पनीहरुले १८ अर्ब २६ करोड १ लाख ४० हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमति मागेका छन् ।

यता, उत्पादन तथा प्रशोधन समूहका कम्पनी छन् । यसक्षेत्रका १६ वटा कम्पनीले आइपीओ निष्कासनको अनुमति माख्दै बोर्डका निवेदन दिएका छन् । ती कम्पनीहरुले २७ल अर्ब ४ करोड ४९ लाख १६ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि बोर्डका निवेदन दिएका हुन् ।

बोर्डका अनुसार अन्य क्षेत्र अन्तर्गत पर्ने १० वटा कम्पनीले पनि ३ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि अनुमति मागेका छन् । यता, लगानी समूहका ४ वटा कम्पनीहरुले ३ अर्ब १४ करोड १० लाख ३७ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि अनुमति मागेका छन् ।

यस्तै, होटल तथा पर्यटन समूहका ४ वटा कम्पनीले १ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख १० हजार कित्ता आइपीओ निष्कासनका अनुमति माग गरेका छन् ।

यस्तै, विकास बैंक तर्फ भने साल्पका विकासको मात्रै छ । साल्पाले १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।

आइपीओ मात्रै नभई जेनजी आन्दोलनपछि बोर्डले कुनै पनि कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको छैन् । गत भदौ ४ गतेदेखि नै हकप्रद सेयर निष्कासनको अनुमति ठप्प छ ।

हाल बाराही हाइड्रोपावर, सानिमा जिआइसी इन्स्योरेन्स, सीइडीबी होल्डिङ, बुद्धभूमि नेपाल हाइड्रो, नेपाल ल्युब, मनिखोला हाइड्रोपावर, सगरमाथा जलविद्युत, हिमालयन पावर, प्रभू महालक्ष्मी, युनाइटेड अजोडले हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेका छन् । चालु आवमो तीन वटा कम्पनीले मात्रै हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएका छन् । अन्तिम पटक अर्थात् गत साउन १५ गते नारायणी डेभलपमेन्ट मात्रै अनुमति पाएको थियो । त्यसयता भने हकप्रद सेयर निष्कासन अनुमति ठप्प छ ।


प्रतिक्रिया दिनुहोस्