यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका पछिल्ला निर्णयहरु (सूचीसहित)
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् ।
सो बैठकले सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले स्विट्जरल्याण्डको जेनेभामा मंसिर १ देखि ३ गतेसम्म हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेलाई सहभागी हुने स्वीकृति दिएको छ ।
त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली–२०८२ स्वीकृत गर्दै, जेन–जी पुस्ताद्वारा मंसिर २३ र २४ गते भएका प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ।
अन्य निर्णयमा इलामका विपद् प्रभावित क्षेत्रका लागि पाँच करोड ३० लाख सहयोग, सर्वोच्चको आदेशअनुसार पदममाया गुरुङलाई क्षतिपूर्ति, थाइल्यान्डमा हुने जलसुरक्षा सम्मेलनमा खानेपानी सचिव प्रमिला देवी शाक्य बज्राचार्यलाई सहभागी गराउने, र नेपाली सेनाका दश प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय पनि छन्।
त्यसका साथै, शिक्षा, अर्थ, संघीय मामिला र सञ्चार मन्त्रालयअन्तर्गतका निकायहरूको नयाँ दरबन्दी तथा संरचना स्वीकृत गरिएको उल्लेख छ।
यस्ता छन् सोमवारको मन्त्रिपरिषद् बैठकले गरेका नर्णयहरु:
१. वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकील समूहका सहन्यायाधिवक्ता श्री घनश्याम ओझालाई तोक्ने ।
२. स्विट्जरल्याण्डको जेनेभामा २०८२ मङ्सिर १ देखि ३ गतेसम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने ।
३. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली, २०८२ स्वीकृत गर्ने ।
४. खानेपानी मन्त्रालयका सचिव श्री प्रमिला देवी शाक्य बज्राचार्यलाई थाइल्यान्डको बैंककमा आयोजना हुने हाई लेभल समिट अन वाटर सेक्युरिटी एण्ड रिसिलेन्स विषयक कार्यक्रममा २०८२ मङ्सिर २२ देखि २६ गतेसम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
५. जेन–जी पुस्ताद्वारा २०८२ मङ्सिर २३ र २४ गते गरिएको प्रर्दशनको क्रममा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फवाट शहीद घोषणा गर्ने ।
६. सर्वोच्च अदालतको आदेशबमोजिम पदममाया गुरुङलाई क्षतिपूर्ति बापत छ लाख तीन हजार छ सय रुपियाँ उपलब्ध गराउने ।
७. विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका इलाम जिल्लााका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने पाँच करोड तिस लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने ।
८. दक्षिण कोरियाली नागरिक मिजिन लीलाई गैरकानूनी रूपमा नेपाल प्रवेश गरेको मितिदेखि निष्कासन मितिसम्म प्रचलित कानूनअनुसार लाग्ने विलम्ब शुल्क र जरिवाना वापतको रकम मिनाहा गरी नेपालबाट प्रस्थान गराउन अनुमति दिने ।
९. नेपाली सेनाका दश जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने ।
१०. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।
११. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, तराई मधेश समृद्धि कार्यक्रम र स्थानीय पूर्वाधार सहयोग कार्यक्रम आयोजना समन्वय इकाइको लागि आर्थिक वर्ष २०८२/८३ मा अधिकृतस्तरका दश अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
१२. अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने
१३. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विज्ञापन बोर्डको लागि आर्थिक वर्ष २०८२/८३ मा अधिकृतस्तरका आठ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।













