गरिमा रोड रेस प्रतियोगिता अयोजना गर्दै गरिमा विकास बैंक
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ ६ गते, शनिबार गरिमा रोड रेसको दोस्रो संस्करण गरिमा रोड रेस, २०८२ आयोजना गर्न लागेको छ ।
विकास बैंकले गत वर्षदेखि शुरु गरेको गरिमा रोड रेस प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुनेछ ।
गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा समेत थप गरिएको छ ।
करिब १ हजार जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस, २०८२ मा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुवै समूहको विजेताले जनही रु.५० हजार र कर्पोरेट र भेट्रान तर्फ जनही रु.३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।
साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले रु.३५ हजार, तृतीय स्थान हासिल गर्नेले रु.२० हजार, चौथो स्थान हासिल गर्नेले रु.१५ हजार र पाँचौ स्थान हासिल गर्नेले रु.१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही रु २० हजार, तृतीय हुनेले रु १४ हजार, चौथो हुनेले रु १० हजार र पाँचौ हुनेले रु.७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बालुवाटार, काठमाण्डौ स्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट शुरु हुने रोड रेस प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पूनः सोही बाटो हुँदै बालुवाटार पुगेपश्चात समापन हुनेछ ।
त्यसैगरी कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पूनः सोही बाटो बालुवाटार पुगे पश्चात समापन हुनेछ ।
प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । ईच्छुक धावकहरुले प्रतियोगितामा २०८२ कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत रु.२० शुल्क तिरी रजिष्टे«शन गर्न सक्नु हुनेछ ।













