फागुन २१ को चुनावका लागि निर्वाचनमा आयोगमा १२२ दल दर्ता, २८ प्रक्रियामै
काठमाडाैं । आज (कार्तिक ३० गते) सम्म निर्वाचनमा आयोगमा एक सय २२ वटा दल दर्ता भएका छन् भने २८ वटा दल दर्ता प्रक्रियामा रहेका छन् । आयोगले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्ताे जानकारी दिएकाे हाे ।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस अवधिमा ७ वटा दल खारेज भएका र ७ वटा नयाँ दलले प्रमाणपत्र पाएकाे बताएका छन् ।
अहिले २८ वटा दलहरु दर्ता प्रक्रियामा रहेको हुनाले दल दर्ताको लागि कागजात प्राप्त भएको तर दल दर्ताको प्रमाण पत्र नपाईसकेको कारण दर्ता प्रक्रियामै रहेकाे भट्टराईले बताए ।
दल दर्ताको प्रक्रियामा रहेका विषयमा कानूनबमोजिम कागजात माग्ने र सनाखत गराउने केन्द्रीय समितिको हकमा आयोगको सचिवालयमा र अन्य सदस्यहरुको लागि सम्बन्धीत जिल्ला निर्वाचन आयोगको कार्यालयहरुबाट सनाखत गराउने काम भइरहेको हुनाले यो सबै प्रक्रिया सम्पन्न भइसकेपछि आयोगले कानूनअनुसार निर्णय गर्ने उनले बताए ।
खारेज भएकाहरुमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरु नेतृत्वको आग्रहमा खारेज गरिएकाे उनले बताए ।
गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो ।
भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भएपनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागि हुने प्रयोजनको अवधीभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले निर्वाचनमा सहभागि हुन पाउने पनि बताए ।
यस्तै उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको समेत बताए । उनकाअनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी ५ मंसिरसम्म जारी रहने समेत बताए ।
शनिवार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या २ लाख रहेको छ ।













