नेपाल टेलिकमकाे आम्दानी र नाफा दुवै घट्याे - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेपाल टेलिकमकाे आम्दानी र नाफा दुवै घट्याे



काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको आम्दानी र नाफा दुवैमा गत वर्षको सोही अवधिको तुलनामा घटेकाे छ।

असाेज मसान्तसम्म कम्पनीको कुल आय रु ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रहेको छ, जुन गत वर्षको रु १० अर्ब ६ करोड ३७ लाख ३५ हजारको तुलनामा ५.८९ प्रतिशत अर्थात् रु ५९ करोड २६ लाख ८५ हजारले कम हो। यद्यपि, कुल सञ्चालन आयमा भने नगन्य अर्थात् ०.०१ प्रतिशतको मात्र कमी आएको छ।

समिक्षा अवधिमा कम्पनीकाे मुनाफा पनि २३.८२ प्रतिशत घटेकाे छ । यस अवधिमा खुद मुनाफा रु १ अर्ब ३२ करोड ५१ लाख ७५ हजार रहेको छ, जबकि गत वर्ष यो रु १ अर्ब ७३ करोड ९५ लाख ९० हजार थियो।

यसैगरी, कर अघिको मुनाफा १८.९० प्रतिशतले घटेर रु २ अर्ब ८८ करोड २१ लाख १६ हजारमा झरेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी रु २९.४५ रहेको छ।

राजश्व तथा खुद मुनाफामा आएको परिवर्तनको प्रमुख कारणहरूमा ओटीटी सेवाहरूको व्यापक प्रयोगले विदेशबाट हुने आगमन कलको परिमाणमा असर पर्नु हो, जसले अन्तरआवद्धता आयमा १७.२९ प्रतिशत (करिब रु १० करोड ९७ लाख ४२ हजार) ले कमी ल्याएको छ।

अर्को प्रमुख कारण, बजारमा ब्याजदरमा आएको ह्रासका कारण मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानीमा ४९ प्रतिशत ले कमी आउनु हो, जसले गर्दा ब्याज आम्दानीमा ५० करोडसम्मको गिरावट आएको छ।

यसका साथै, कर्मचारी खर्चमा पनि वृद्धि भएको छ। कर्मचारी बीमा खर्च १.९५ करोडले बढेको छ भने नेपाल लेखामान १९ अनुसार पेन्सन योजनाको दायित्व गणनाको लागि प्रयोग भएको डिस्काउन्ट दर ७.५५ बाट ७५ भएकोले कर्मचारी अवकाश सम्बन्धी खर्च १६.५ करोडले बढेको छ।

यी कारणले गर्दा कुल कर्मचारी खर्चमा ८.८ करोडले वृद्धि भएको छ। कम्पनीले राष्ट्रको सञ्चार भएकाले बढी लागत र कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र यसले पनि लागत बढाइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्