बारा घटनाबारे प्रधानमन्त्री- ‘कानून हातमा लिने छुट कसैलाई छैन’
काठमाडौँ । बाराकोको सिमरामा आज देखिएको तनाव र हिंसाका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छिन् ।
उनले यस घटनालाई “अत्यन्तै दुःखद” भनेकी छिन्। जिन्जी आन्दोलनकारी भन्दै बाराको सिमरा विमानस्थलमा एमाले नेताहरूलाई रोक्न अग्रसर हुँदा झडप भएको घटनाप्रति प्रधानमन्त्रीले प्रतिक्रिया दिएकी हुन्।
बुधबार बिहान नेकपा एमालेका महासचिव शंकर पोखरेल र उनका साथमा भानुभक्त ढकाल तथा महेश बस्नेत जस्ता नेता बाराको परवानीपुरमा एउटा शोभालाई सम्बोधन गर्न जाँदै थिए।
उक्त जानकारी पाएसँगै विमानस्थल नजिकै ‘कार्यक्रम राखेको’ भनेर केही युवाहरू संगठित भएका थिए। उता एमालेका कार्यकर्ताहरू आफ्ना नेतालाई विमानस्थलमा स्वागत गर्न जान थाले।
यही क्रममा जिन्जी युवा र एमाले कार्यकर्ताबीच झडप भएको थियो। यस घटनालाई लिएर स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्यो। सिमराको विमानस्थल दिनभर बन्द रह्यो।
काठमाडौँबाट सिमरा जनक प्लेन चढिसकेका मानिसहरू विमानबाट झरेर घर फर्किन बाध्य भए । एमाले नेता महेश बस्नेतले बारा जान नपाएपछि काठमाडौँमै पत्रकार सम्मेलन गरेर मङ्सिर ६ गतेदेखि हुने एमालेको आन्दोलनका कारण प्रधानमन्त्री सुशीला कार्कीले सत्ता छाड्नुपर्ने बताएका थिए।
संविधानले दिएको कुनै पनि नागरिकको आवतजावत गर्ने अधिकार खोसिएको, विमानस्थल जस्ता संवेदनशील क्षेत्रमाथि नियन्त्रण गर्न खोजेको र चुनावको वातावरण बनाउनुभन्दा नेताहरूलाई हिँड्नै नदिएर चुनाव बिथोल्ने योजना अघि सारेको जस्ता आरोप लागेपछि प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत राति १० बजे प्रतिक्रिया सार्वजनिक गरेकी हुन्।
राजनीतिक दललाई अवरोध गरेर संक्रमणकाल लम्ब्याउने कोसिस भइरहेको हो ?
उनले लेखेकी छन्, ‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन।’
युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले थपिन्, ‘अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो। तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन।’
उनले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको बताएकी छन्।
‘लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ। त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु’, प्रधानमन्त्रीको भनाइ छ।














