९ श्रावण २०८३, शनिबार

सिमरा घटना : प्रशासन–जेनजीबीचको वार्ता सकियो



काठमाडौं । बाराको सिमरा घटनालाई शान्त पार्ने उद्देश्यले गरिएको प्रशासन–जेनजीबीचको वार्ता भर्खरै सम्पन्न भएको छ ।

पथलैयास्थित सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालयमा शुक्रबार बसेको वार्तामा करिब तीन बुँदे सहमति नजिकिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार जेनजी समुदायको सुरक्षा सुनिश्चित गर्ने, घाइतेहरूको उपचारमा समन्वय गर्ने र घटनाको निष्पक्ष छानबिन–कारबाही अघि बढाउने प्रतिबद्धता विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी छ ।

वार्तामा सहभागी जेनजी प्रतिनिधिहरूले आफूहरूलाई निरन्तर धम्की आइरहेको भन्दै सुरक्षाको स्पष्ट ग्यारेन्टी माग गरेका थिए । साथै, घटनामा संलग्न सबै व्यक्तिलाई तात्कालिक रूपमा पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने उनीहरूको जोड थियो ।

यसमा प्रजिअ मिश्रले खुलेआम हिँडिरहेका आरोपितलाई पक्राउ गर्ने निर्देशन दिइसकिएको बताउँदै लुकेर बसेकालाई पक्राउ गर्न ‘दिन तोक्ने’ माग भने व्यवहारिक नभएको प्रतिक्रिया दिएका छन्। सिमरा घटनापछि बढेको तनाव न्युनिकरणमा आजको वार्ता निर्णायक रूपमा अघि बढेको प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्