चिसो बढ्यो, बजार तात्यो : न्यानो कपडाको कारोबार बढेपनि किन सन्तुष्ट छैनन् व्यापारी ?
काठमाडौं । जाडोको सुरुवातसँगै काठमाडौंका बजारहरूमा न्यानो कपडाको व्यापार तातिँदै गएको छ । न्युरोड, बानेश्वर, कोटेश्वर, असन, सुन्धारा, बागबजार र नयाँ बसपार्क आसपासका क्षेत्रहरुमा स्विटर, ज्याकेट, हुडी, हाइनेक र तातो पाइन्ट किन्न आउने ग्राहकहरूको भीड बढ्न थालेको छ ।
यो भिडसँगै काठमाडौंको न्यूरोडमा विगत ९ वर्षदेखि कपडाको पसल संचालन गर्दै आएका श्याम मगरको व्यस्तता पनि बढ्दो छ । न्यानो कपडा बिक्रीले नै उनको व्यस्तता बढाएको हो । चिसो बढेसँगै न्यानो कपडाको व्यापार पनि बढेको मगरले बताए । उनी भन्छन्,‘देशभर चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । अहिले पसलमा ज्याकेट, स्वीटर, हुडी किन्नेहरुको भिड दैनिक बढ्दो छ ।’
केही समयको व्यापारिक सुस्तापछि उनको दैनिक कारोबार बढ्दा खुुशी पनि छन् । यद्यपि, गत वर्षको तुलनामा भने व्यापारमा चहलपहल नभएको उनको भनाई छ । ‘अघिल्ला महिनाहरुमा ठुला चाडपर्व (दशैं तिहार) ले व्यापार बढेको छ । त्यस लगत्तै चिसो पनि बढ्यो, न्यानो कपडाको कारोबार पनि बढ्दो छ’, उनी भन्छन् ।
सिन्धुली घर भई अहिले काठमाडौंको बाफलमा बस्दै आएका मगर अहिले दैनिक ४५ हजार रुपैयाँसम्मको व्यापार गर्छन् । त्यसमा झन्डै ३० हजार रुपैयाँ बराबरको न्यानो कपडा नै बिक्ने गरेको छ । स्विटर, ज्याकेट, हाइनेक, हुडीदेखि तातो पाइन्टसम्म किन्न आउनेहरूको भीड गत केही हप्तादेखि नै बढ्दो छ ।
‘देशभर चिसो बढेपछि न्यानो कपडा पसल नचल्ने भन्ने हुँदैन । अहिले हाम्रो पसलमा पनि ज्याकेट, स्विटर र लगायतका न्यानो कपडा किन्न आउने ग्राहकको दिनदिनै बढ्दैछ’, काठमाडौंको शंखमुलका व्यवसायी मनु दर्नाल भन्छन् । न्यानो कपडाको माग बढेपनि यो वर्षको व्यापार अघिल्ला वर्षको जत्तिकै उत्साहजनक नभएको उनको भनाई छ ।

यता, ललितपुरको बंगालामुखी मन्दिर नजिकै (शंखपार्क नजिकै) कपडा पसल संचालन गर्दै आएका अर्का व्यापारी पनि जाडो सुरु भएलगत्तै हाइनेक, ज्याकेट, टाउजरजस्ता सामान बिक्री बढेको बताउँछन् । हाल दैनिक ३५ हजारसम्म कारोबार हुने गरेको उनले बताए । तर, अघिल्ला वर्षको तुलनामा भने कारोबार घटेको बताउँछन् । ‘अहिले दैनिक त्यही ३०–३५ हजारसम्मको व्यापार हुन्छन् । चिसो बढेसँगै तातो कपडाको व्यापारले नै कारोबार बढेको हो । तर, पहिलेको जस्तो व्यापार छैन्’, उनी भन्छन् । उनका अनुसार ताता खालका मजा, टाउजर, टोपी, ज्याकेट नै बढी बिक्री भइरहेको छ ।
ठुला–ठुला पसलदेखि सडक तथा फुटफाथमा पनि न्यानो कपडाका बिक्रीको चाप नै छ । सामान्य पसल र फुटफाथ बाहेकका ठुला पसलहरुमा तुलनात्मक कम व्यापार छ । अहिले बजारमा एक हजारदेखि २५ सय रुपैयाँ रेञ्जका न्यानो कपडा बढी मागमा छन् । तर, महँगो मूल्य खचिएर कपडा खरिद गर्नेको संख्या घटेको व्यापारीहरु बताउँछन् ।
अहिले चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेपनि अघिला वर्षहरुको तुलनामा भने घटेको छ । व्यापारीहरुले साझा गुनासो छ,‘जाडो सुरुभएसँगै व्यापार बढेपनि ग्राहक भने घट्दो नै छ । अघिल्ला वर्षहरुको तुलनामा कारोबार पनि घट्दो छ ।’
खासगरी युवापुस्ता विदेशिएपछि व्यापार घट्दै गएको उनीहरु बताउँछन् । व्यापारीहरु भन्छन्,‘पहिलेका वर्षजति मानिस बजार आउँदैनन् । युवाहरू विदेश गइसके । हाइनेक, ज्याकेट, टाउजरको चलेपनि त्यसको मात्रा पहिलेको जस्तै छैन ।’
जाडोको सुरुवातसँगै उपत्यकाको बजार तातिएको छ । तर, व्यापारीको अपेक्षा अनुसार कारोबार तातिएको छैन् । एक व्यापारी भन्छन्,‘पहिलेको जस्तो चहलपहल छैन । देशमै अनिश्चितता धेरै छ, मानिस खर्च गर्न हिच्किचाउँछन् । यद्यपि, जाडोमुखी कपडाको व्यापार ठिकै छ । तर, अघिल्लो वर्षजस्तो भने पक्कै छैन ।’













