बचत तथा ऋण सहकारी अब अनिवार्य रूपमा कर्जा सूचना केन्द्रमा आवद्ध हुनुपर्ने
काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा कर्जा सूचना केन्द्रको सदस्यता लिन आग्रह गरेको छ।
मङ्सिर ९ गते सम्पन्न प्राधिकरण बोर्ड बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्रमा आवद्धताका लागि आह्वान गर्ने निर्णय गरेकाे हाे ।
उक्त निर्णय अनुसार सम्पूर्ण सहकारी संस्थाहरूले अनिवार्य रूपमा आवश्यक प्रक्रिया पूरा गरी सदस्यता प्राप्त गर्न निर्देशन दिएकाे हाे ।
सूचनाअनुसार, सहकारी ऐन, २०७४ (संशोधन सहित) को दफा ८१ ले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले प्रचलित कानुनअनुसार स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता लिई कर्जा कारोबारसम्बन्धी सूचना नियमित रूपमा आदान–प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ।
यही प्रावधान कार्यान्वयनका लागि प्राधिकरणले कर्जा सूचना केन्द्र लिमिटेडसँग चरणबद्ध रूपमा बैठक तथा छलफल गर्दै आएको छ। साथै मिति २०८२/०७/२८ मा प्राधिकरणको सभाहलमा प्राधिकरणको व्यवस्थापन, कर्जा सूचना केन्द्रका प्रतिनिधि र सहकारी अभियानका प्रतिनिधिहरूबीच सदस्यता प्राप्त गर्ने प्रक्रिया, तथ्यांक व्यवस्थापन प्रणाली र ऋण कारोबारसम्बन्धी सूचना आदान–प्रदानबारे अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको सूचनामा उल्लेख छ।
साथै, सम्पूर्ण बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई सदस्यता प्रदान गर्न कर्जा सूचना केन्द्रलाई पनि अनुरोध गरिएको छ।

















