सुन तस्करी प्रकरण : धरौटी बुझाएपछि रिहा भए महरा
काठमाडौं । सुन तस्करी आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका छन् ।
पाटन उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनलाई प्रक्रियाका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । महराले तोकिएको धरौटी बुझाएपछि उनी छुटेका हुन् ।
उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले मूल जाहेरी र पहिलो पुरक अभियोगमध्ये कतै पनि महराको संलग्नता स्पष्ट रूपमा नदेखिएको निष्कर्ष निकाल्दै थुनामा राखिरहनुपर्ने आधार नपाएको उल्लेख गरेको थियो ।
यसअघि काठमाडौं जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको भए पनि पाटन उच्च अदालतले त्यसलाई उल्टाउँदै धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो ।
महरालाई गत असोज २६ गते सीआईबीले २०७९ पुस १० गते फ्लाई दुबईको एउटा फ्लाइटमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो।













