अब नेपालमा पनि १०० भारूभन्दा ठूला नोट चल्ने, आरबीआइले हटायो प्रतिबन्ध
काठमाडौं । अब नेपालमा १०० भारतिय रूपैयाँ भन्दा माथिका नाेट पनि चल्ने भएका छन् ।
भारतकाे केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले राजपत्रमा नेपालमा ठूला नाेट प्रयोगका लागि लगाइएको प्रतिबन्ध हटाएसँगै ठूला नाेट चल्ने भएका हुन् ।
‘नेपाल र भुटानबाट भारत यात्रा गर्ने व्यक्तिले १०० भारतिय रूपैयाँ भन्दा ठूला नाेट ल्याउन तथा भारबाट बाहिर लैजान सकिनेछ’ आरबीआइकाे व्यवस्थामा भनिएकाे छ ।
आरबीआइकाे यस व्यवस्थालाई नेपाल राष्ट्र बैंकले समायोजन गरेर सूचना प्रकाशित गरेपछि नेपालमा पनि ठूला दरका भारु नोट सटही हुनेछ।
ठूला दरका नोटको अधिकतम सीमा भने २५ हजार रूपैाँ तोकिएको छ। यस व्यवस्थाले भारतबाट नेपाल आउने पर्यटकका साथै नेपालबाट भारत जाने विद्यार्थी र कामदारहरुलाई राहत पुग्ने बताइएकाे छ ।
भारतमा सन् २००० मा विदेशी मुद्रा विनिमय व्यवस्थापन ऐन आएपछि नेपालमा ठूला दरका भारु चल्न छाडेको थियो।
भारतमा अहिले २००० दरका नोटसम्म चलनचल्तिमा भए पनि २०२३ देखि २ हजार दरका नयाँ नोट छापिन छाडेको छ। त्यसैले अहिले १०० दरभन्दा माथिको अधिकतम २०० र ५०० दरका नोट चलनचल्तिमा छ।













