बाङ्लादेशमा भएको धर्म हिंसा र दीपुको हत्याप्रति नेपाल सन्त समाजद्वारा निन्दा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बाङ्लादेशमा भएको धर्म हिंसा र दीपुको हत्याप्रति नेपाल सन्त समाजद्वारा निन्दा



काठमाडौँ । छिमेकी देश बाङ्लादेशमा हालै भएको दीपुचन्द्र दासको अमानवीय क्रुर हत्याप्रति चासो देखाउँदै नेपाल सन्त समाजले निन्दा गरेको छ ।

समाजले सोमबार एक विज्ञप्ती प्रकाशित गरी भनेको छ— ‘एक पछि अर्को गरी आस्थाकै आधारमा भइरहेका हिन्दुहरुको मन्दिरमा आक्रमण, निजी घर र व्यवसायमा आगजनी, महिलामाथि बलात्कार, निर्वासन, धर्म परिवर्तनका लागि दबाब तथा निर्दोष नागरिकहरुको हत्याजस्ता घटनाहरु ज्यादै निन्दनीय छन् ।’

कुनै पनि मानिसमाथि हुने यस्ता अमानवीय व्यवहार कुनै पनि हालतमा स्वीकार्य नहुने समाजले भनेको छ ।

समाजका महासचिव आचार्य गुरुप्रसाद सुवेदी र अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले हस्ताक्षर गरेको विज्ञप्तीमा ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिन:’ भन्ने भावलाई आदर्श मान्ने सनातन हिन्दु धर्म मानवता, सहिष्णुता, करुणा र सहअस्तित्वको प्रतीक भएको उल्लेख छ ।

बाङ्लादेशको अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको चरम अत्याचार ‘सम्पूर्ण मानव र नैतिकतामाथिको आक्रमण’ भएको विज्ञप्तीमा उल्लेख छ । समाजले त्यहाँ धर्मका नाममा हुने हिंसा तत्काल रोकिनु पर्ने भनेको छ ।

‘न्याय, मानवता र आस्थाको स्वतन्त्रताको रक्षा अनिवार्य छ’, विज्ञप्तीमा भनिएको छ, ‘हामी बाङ्लादेश सरकारसँग अल्पसंख्यक हिन्दु समुदायको जीवन, धार्मिक आस्था र सम्पत्तीको सुरक्षा सुनिश्चित गर्न नेपाल सन्त समाज र समस्त स्वधर्मप्रेमी नेपाली नागरिकहरुका तर्फबाट जोडदार माग गर्द छौँ ।’

समाजले अन्तरराष्ट्रिय समुदाय तथा मानवअधिकारकर्मी संस्थाहरुसँग समेत ‘यस्ता मानवअधिकार विरोधी गतिविधिहरुमा स्पष्ट दृष्णिकोणसहित प्रभावकारी हस्तक्षेप गर्न’ माग गरेको छ । साथै नेपाल सरकारसँग पनि आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न र कूटनीतिक पहल गरी समस्याको समाधान गर्न समाजले जोडदार माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्