प्रधानमन्त्रीलाई झुक्याएपछि ‘सुपरस्टार सचिव’को सरुवा
काठमाडौँ । सरकारले ‘सुपरस्टार सचिव’ कृष्णहरि पुष्करलाई सबैभन्दा ‘निकम्मा’मध्येको एक अड्डा मानिने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिदिएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको लागत बढाउने बारे निर्णयमा स्वयम् प्रधानमन्त्री सुशीला कार्कीलाई नै झुक्याएर सही गराएको भन्दै उनीमाथि छानबिन थालेको सरकारले सरुवा गरिदिएको हो ।
वैदेशिक रोजगार विभागको महानिर्देशक र त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता हुँदा पुष्करलाई ‘भावि मुख्यसचिव’को उमेदवारका रुपमा हेरिएको थियो ।
आफ्नो व्यक्तिगत ब्राण्डिङमा माहीर पुष्करलाई जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले कारबाही गर्ने गरी प्रक्रिया थालेको खबर नयाँपत्रिकाले लेखेको छ ।
उपराष्ट्रपति कार्यालयलाई कर्मचारी प्रशासनमा सबैभन्दा ‘निकम्मा’मध्येको एक ठानिन्छ । बजेट र भूमिका केही पनि नहुने यस्तो अड्डामा सरकारलाई ‘फिटिक्कै मन नपरेका’ सचिवहरुलाई पठाउने गरिएको छ ।
पुष्कर यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थिए । व्यवसायी चन्द्र ढकालको अत्यन्त विश्वासपात्र मानिने राजेन्द्रसिंह भण्डारीलाईंं केही समयअघि श्रम मन्त्री नियुक्त गरेकी प्रधानमन्त्रीले अब सचिवलाई भने कारबाही गर्ने भएकी हुन् ।
अब श्रम मन्त्रालयको सचिव पदमा दिपक काफ्लेलाई ल्याइएको छ । उनी राष्ट्रपति कार्यालयका सचिव छन् ।
सरकारले अर्को शक्तिशाली अड्डा मानिने गृह मन्त्रालयका सचिव रामेश्वर दंगाललाई पनि सरुवा गरेको छ । तर दंगाल लोक सेवा आयोगमा सरुवा भएका छन् । यो संवैधानिक निकाय पनि शक्तिशाली अड्डामध्येमै पर्छ । यी दुईसहित सरकारले कुल ७ जना सचिवको सरुवा गरेको छ ।
पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले सात सचिवको सरुवा गरेको हो । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठले नयाँ गृह सचिवको भूमिका सम्हाल्ने छन् ।
उता, लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठइएको छ । त्यस्तै युवा तथा खेलकुद सचिव डा. हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
लम्सालको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई ल्याइएको छ ।













