नेपाली कफीको विचित्र व्यापार : निर्यातको साढे २२ गुणा आयात, बारीमा २५ लाखको आम्दानी
काठमाडौं । काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफी खेतीमा लगेका छन् ।
उनलाई अहिले कफीको दाना टिप्ने मौसम भएकाले भ्याई नभ्याई छ । थाकरले डाँडैभरि लगाएको कफीको बगैँचाका बोटभरि लटरम्म फलेका बोटहरू देख्न पाइन्छ ।
परम्परागत खेती मकै, कोदोलगायत भन्दा कफीबाट बढी आम्दानी हुने भएकाले थोकरले कफी खेती गर्न थालेको बताउन् ।
अहिले थोकर कफी टिप्ने, पल्पिङ गर्ने र सुकाउने काममा व्यस्त छन् । यस वर्ष थोकरले कफी खेतीबाट करिब २५ लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरेका छन् ।
‘गत वर्षभन्दा यो वर्ष प्रशस्त मूल्य पाइएको छ’, थोकरले भने, ‘खाना, लाउन र छोराछोरीलाई पढाउन सबै खर्च व्यवस्थापन हुँदै आएको छ ।’
गाउँमा थोकरको परिवारले पहिलो पटक व्यावसायिक कफी खेती गरेर राम्रो आम्दानी गरेपछि सोही ठाउँका ज्ञानबहादुर बोम्जनले पनि ६ वर्षदेखि व्यावसायिक कफी खेती गर्दै आएका छन् ।
‘कोदो, मकै लगाउँदा वर्षभरि खट्नुपर्छ, कफी खेतीमा तीन महिना खट्दा लाखौँ आम्दानी हुन्छ’, बोम्जनले भने, ‘६ रोपनी जग्गामा करिब २ हजार बोट रोपेर त्यसबाट आम्दानी लिँदै आएको छु ।’
बोम्जनले गत वर्ष ५ लाख रुपैयाँ कफी खेतीबाट कमाएका थिए भने यस वर्ष करिब१० लाख रुपियाँको कफी भएको बत्ताउँछन् ।
थोकर र बोम्जन जस्तै महाभारतको महादेवराटका पातली माया घिसिङले धान रोप्न छोडेर कफी खेतीनै गर्दै आएको छिन् । उनले १० वर्षदेखि खेती गर्दै आएको बत्ताउँछिन् ।
धानभन्दा दोब्बर आम्दानी हुने भएकाले कफी खेतीनै मुख्य पेसा बनाएको घिसिङ बत्ताउँछिन् । उनले अहिले वर्षको करिब १ हजार ५०० किलोसम्म कफी उत्पादन गर्दै आएकी छिन् ।
‘पहिला पहिला मकै, कोदो रोप्दा खानालाई मात्रै ठिक हुन्थ्यो । छोराछोरीलाई पढाउन ऋण लिनुपर्ने अवस्था थियो’, घिसिङले भनिन्, ‘त्यसलाई छोडेर कफी खेती गर्न थालेपछि खर्च कटाएर मनग्य आम्दानी हुन्छ ।’
निर्यातको साढे २२ गुणा आयात
नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो ’ब्रान्ड’ र पहिचान बनाउँदै गए पनि व्यापारिक तथ्यांक हर्दा भने उदेकलाग्दो चित्र देखिन्छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनाको प्रतिवेदन अनुसार नेपालले कफी निर्यातबाट जति आम्दानी गरेको छ त्यसको तुलनामा साढे २२ गुणा बढी कफी आयात हुने गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा नेपालबाट कुल ४ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको २१ हजार ७७७ किलोग्राम कफी निर्यात भएको छ । नेपालले निर्यात गर्ने कफीको सूची हेर्दा विशेष गरी ’रोस्ट’ नगरिएको कच्चा कफी र केही मात्रामा रोस्ट गरिएको कफी विदेश जाने गरेको भन्सार विभागले जनाएको छ ।
नेपाली कफीको औसत निर्यात मूल्य प्रति केजी २ हजार रुपैयाँभन्दा माथि रहनुले विश्व बजारमा यहाँको ’हिमालयन अर्थोडक्स कफी’ को उच्च माग रहेको देखिन्छ । नेपालबाट मुख्य जापान, अमेरिका र युरोपेली मुलुकहरू कफी निर्यात हुने गरेको विभागको तथ्यांकले देखाएको छ ।
निर्यातको तुलनामा आयातको तथ्यांक निकै डरलाग्दो देखिएको छ । सोही ५ महिनाको अवधिमा नेपालले ९० करोड ८६ लाख ४१ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार १७१ किलोग्राम कफी आयात गरेको छ । यसको अर्थ नेपालले १ रुपैयाँको कफी निर्यात गर्दा करिब साढे २२ रुपैयाँको कफी विदेशबाट भित्र्याइरहेको छ ।
नेपालमा ’भ्यालु एडेड’ कफीको बजार ठुलो देखिन्छ । नेपालमा विशेष गरी रोस्टेड कफी, क्याफिन निकालिएको कफी, कफीका एसेन्स र कन्सन्ट्रेटहरू ठुलो मात्रामा आयात भइरहेको भन्सार विभागको तथ्यांमा देखिन्छ ।
कफी आयातबाट ४० करोड ५६ लाख ७३ हजार रुपैयाँ सरकारले राजश्व पाएको छ ।
नेपालमा मुख्य तय भारतबाट बढी मात्रामा कफी आयात हुने गरेको विभागको तथ्यांकले देखाएको छ भने कतार, साउदी अरब अमेरिका जस्ता मूलकहरूबाट पनि कफी आयात हुने गरेको देखिएको छ ।













