आपत्तिजनक सन्देश पठाए सम्झौता रद्द गर्ने भिएएस सेवा प्रदायकलाई टेलिकमको चेतावनी
काठमाडाैं । नेपाल टेलिकमले आफ्नो भ्यालु एडेड सर्भिस (भिएएस) प्रणाली प्रयोग गरी सेवाग्राहीहरूलाई विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने खालका आपत्तिजनक सन्देशहरू पठाउने सेवा प्रदायकहरूलाई कडा चेतावनी दिएको छ।
केही सेवा प्रदायकहरूले स्वीकृत व्यवसायिक सीमा नाघेर यस्ता सन्देश प्रवाह गरेको र यस सम्बन्धमा राज्यका निकायहरूबाट समेत गुनासो प्राप्त भएपछि टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे।
सम्बन्धित भिएएस सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गिय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पु¥याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराएको छ ।
आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न तथा नियन्त्रण गर्न सबै भिएएस सेवा प्रदायकहरुलाई निर्देशन दिइएको छ भने यस प्रकारका कार्य पुनः दोहो¥याएमा सम्झौताको प्रावधान बमोजिम दुई पक्ष बिचको सम्झौता नै रद्द गर्न सकिने स्पष्ट पारेकाे छ।
नेपाल टेलिकम सेवाग्राहीको मोबाइल नम्बर तथा अन्य विवरणहरुको गोपनियताप्रति सदैव संवेदनशील रहेको र आगामी दिनमा समेत गोपनियताको सम्मान गर्ने प्रतिबद्धता दाेहाेर्याएकाे छ।













