मुक्तिनाथ विकास बैंकको खुद नाफामा ३३.५७ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिना (पुस मसान्त) सम्ममा मुक्तिनाथ विकास बैंकले ६७ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको ५० करोड ३१ लाख रुपैयाँको तुलनामा ३३.५७ प्रतिशतले बढी हो ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ८.१४ प्रतिशतले र सञ्चालन मुनाफा ३५.०२ प्रतिशतले बढेका कारण खुद नाफामा यो सुधार आएको हो ।
बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी २ रुपैयाँ ५२ पैसाले वृद्धि भई १६ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै, पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १९ करोड ५२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८८ पैसा रहेको स्रोतले उल्लेख गरेको छ ।
बैंकले खराब कर्जा नियन्त्रणमा सफलता प्राप्त गरेको देखिन्छ । गत वर्ष ३.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर ३.७५ प्रतिशतमा झरेको छ । खराब कर्जा घटेसँगै बैंकको इम्पेरमेन्ट चार्ज पनि ८२ करोड ७१ लाखबाट घटेर ६१ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ३५ पैसा र मूल्य आम्दानी अनुपात २०.७७ गुणा रहेको छ ।
निक्षेप तथा कर्जा परिचालन ८ अर्ब ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १० करोड ८३ लाख रुपैयाँ सञ्चित छ । बैंकले हालसम्म १ खर्ब १५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको विवरणमा उल्लेख छ ।
यसरी, खुद ब्याज आम्दानीमा भएको वृद्धि र खराब कर्जा व्यवस्थापनमा देखिएको सुधारले गर्दा मुक्तिनाथ विकास बैंकको समग्र वित्तीय अवस्था बलियो देखिएको छ ।













