गोकर्ण फरेस्ट रिसोर्टले एकै वर्षमा गर्यो ४५ करोड २० लाखको व्यापार, ऋण तिर्न सक्ने क्षमतामा पनि सुधार
काठमाडौं । काठमाडौँको सुन्दरीजल नजिकै करिब ४७० एकड वन क्षेत्रमा फैलिएको र गल्फ कोर्ससहितको विशिष्ट सेवा प्रदान गर्दै आएको गोकर्ण फरेस्ट रिसोर्ट प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक र वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ ।
सन् १९९५ देखि सञ्चालनमा रहेको १०० कोठा क्षमताको यो बुटिक रिसोर्टले पछिल्लो समय पर्यटन क्षेत्रमा आएको सुधारसँगै आफ्नो आम्दानी र नाफा बढाएको छ ।
रिसोर्टले सन् २०२५ मा ४५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ , जुन अघिल्लो वर्षको तुलनामा ७.८७ प्रतिशतले बढी हो । इक्रा नेपालका अनुसार, कम्पनीको व्यापार सन् २०२४ मा ४१ करोड ९० लाख रुपैयाँ थियो ।
यसअघि सन् २०२३ मा कारोबार ४२ करोड , सन् २०२२ मा ३३ करोड ९० लाख , र सन् २०२१ मा १२ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
कारोबार वृद्धिसँगै कम्पनीको नाफा कमाउने क्षमतामा पनि ठुलो सुधार देखिएको छ । आर्थिक वर्ष २०२४ मा १९ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२५ मा बढेर २६ प्रतिशत पुगेको छ । यस्तै, कम्पनीको ऋण तिर्न सक्ने क्षमतामा समेत सुधार आएको छ । अघिल्लो वर्ष २.२ गुणा रहेको ब्याज कभरेज अनुपात बढेर ३.२ गुणा पुगेको छ भने ऋण सेवा कभरेज अनुपात पनि १.० गुणाबाट सुधार भई १.८ गुणा पुगेको छ ।
निर्माणाधीन “गोकर्ण इन्टरनेसनल कन्फरेन्स सेन्टर” परियोजनाका लागि ऋण लिइएका कारण कम्पनीको कुल ऋण र नेटवर्थको अनुपात अघिल्लो वर्षको ०.५ गुणाबाट केही बढेर ०.९ गुणा पुगेको भए तापनि यो अझै नियन्त्रित र सन्तोषजनक अवस्थामै रहेको छ । यद्यपि, निर्माण अनुमतिमा भएको ढिलाइका कारण यस परियोजनाको कार्यान्वयनमा केही जोखिम भने देखिएको छ ।
यही सबल वित्तीय सूचक, सन्तोषजनक कभरेज सूचकांक र व्यवस्थापकीय अनुभवका कारण इक्रा नेपालले कम्पनीको ६६५ मिलियन रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जाको रेटिङलाई ‘एल डबल बी’ बाट स्तरउन्नति गरी ‘ एल डबल बीप्लस’ प्रदान गरेको छ । त्यसै गरी, ७० मिलियन रुपैयाँ बराबरको अल्पकालीन कर्जाको रेटिङलाई पनि ‘एफाेरबाट’ बाट स्तरउन्नति गर्दै ‘एफाेर प्लस’ रेटिङ दिएको छ ।
यती/थामसेर्कु ग्रुपको लगानी रहेको यस रिसोर्टले पर्यटन क्षेत्रका विविध निकायहरूसँगको समन्वय र आफ्नो स्थापित ब्रान्ड इमेजका कारण बजारमा बलियो पकड जमाएको छ । रिसोर्टको अकुपेन्सी दर ४४-४५ प्रतिशतको हाराहारीमा स्थिर रहे तापनि प्रति उपलब्ध कोठा आम्दानीमा भने सुधार देखिएको छ ।
यद्यपि, ७६ प्रतिशतको उच्च कार्यशील पूँजी तीव्रता, एकल सम्पत्तिमा आधारित व्यवसाय र काठमाडौँमा थपिँदै गएका नयाँ विलासी होटलहरूबीचको तीव्र प्रतिस्पर्धाका बीच आफ्नो अकुपेन्सी दर र नाफालाई अझ सुदृढ बनाउँदै लैजाने चुनौती र अवसर दुवै कम्पनी सामु रहेका छन् ।













