शिवम प्लास्टिक इन्डष्ट्रिजको व्यापार १ अर्ब ८५ करोड नाघ्यो, आम्दानीकाे ६० प्रतिशत हिस्सा भारत निर्यातबाट
काठमाडौं । विराटनगरमा प्लान्ट स्थापना गरी पोलिप्रोपिलिन ओभन फेब्रिक र एचडीपीई ओभन त्रिपाल उत्पादन गर्दै आएको शिवम प्लास्टिक इण्डस्ट्री लिमिटेडले आफ्नो व्यावसायिक कारोबारमा उल्लेख्य वृद्धि गरेको छ ।
सन् २००० मा निजी कम्पनीका रूपमा स्थापना भई सन् २०२१ मा पब्लिक लिमिटेडमा रूपान्तरण भएको यस उद्योगले पछिल्लो एक वर्षमा आफ्नो व्यापारलाई २७ प्रतिशतभन्दा धेरै वृद्धि गरेकाे छ ।
कम्पनीले आर्थिक वर्ष २०२५ मा १ अर्ब ८५ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आफ्नो कुल वार्षिक बिक्रीको करिब ६० प्रतिशत हिस्सा भारततर्फ निर्यात गरेर आम्दानी गरेकाे जनाएकाे छ।
इक्रा नेपालको प्रतिवेदन अनुसार, अघिल्लो आर्थिक वर्ष २०२४ मा कम्पनीको कारोबार १ अर्ब ४५ करोड ८० लाख रुपैयाँ सीमित थियो ।
यसअघि सन् २०२३ मा कम्पनीले १ अर्ब ३५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । चालु आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा मात्रै कम्पनीले ९२ करोड रुपैयाँको व्यापार गरिसकेकाले यो वर्ष पनि व्यापारको लय सकारात्मक रहने देखिएको छ ।
व्यापारको परिमाण बढे पनि कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण कम्पनीको नाफा मार्जिनमा भने केही दबाब देखिएको छ । आर्थिक वर्ष २०२४ मा ४.९४ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा घटेर ४.२४ प्रतिशतमा झरेको छ ।
यस्तै, कम्पनीको कुल ऋण र नेटवर्थको अनुपात अघिल्लो वर्षको २.१२ गुणाबाट बढेर २.६८ गुणा पुगेको छ भने ब्याज कभरेज अनुपात १.५६ गुणामा स्थिर रहेको छ । कम्पनीको चालु अनुपात भने ०.९७ बाट केही घटेर ०.८२ गुणा कायम भएको छ ।
यही वित्तीय सूचक, सन्तोषजनक सञ्चालन प्रदर्शन र प्रवर्द्धकहरूको लामो अनुभवलाई आधार मान्दै केयर रेटिङ नेपालले कम्पनीको कुल १ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि रेटिङ पुन:पुष्टि गरेको छ । जसअनुसार, २४ करोड ३५ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि ‘केयर-एनपी डबल बी प्लस’ र १ अर्ब ३४ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि ‘केयर-एनपी ए फोर प्लस’ रेटिङ प्रदान गरिएको छ ।
गोल्छा र अग्रवाल समूहको लगानी रहेको यस उद्योगले आफ्नो उत्पादनको करिब ६० प्रतिशत हिस्सा भारततर्फ निर्यात गर्दै आएको छ । विराटनगरमा रहेको उद्योगको अवस्थिति र भारतसँगको निकटताका कारण ढुवानी खर्चमा हुने बचत कम्पनीका लागि मुख्य सबल पक्ष बनेको छ ।
यद्यपि, सतप्रतिशत कच्चा पदार्थ आयातमा निर्भर रहनुपर्ने बाध्यता, डलरको विनिमय दरमा हुने उतारचढाव र कार्यशील पूँजीको उच्च आवश्यकता जस्ता चुनौतीहरू कम्पनीसामु रहेका छन् ।
शिवम प्लास्टिकले हाल वार्षिक ११ हजार १२५ मेट्रिक टन फेब्रिक र ४ हजार ६२० मेट्रिक टन त्रिपाल उत्पादन गर्ने क्षमता राख्दछ । भारतसँगको व्यापारिक नीति र कच्चा पदार्थको मूल्यलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै आफ्नो बजार हिस्सा विस्तार गर्ने रणनीतिमा कम्पनी अघि बढेको देखिन्छ ।













