तन्नेरी सिद्धार्थ बैंक: व्यवसाय विस्तारभन्दा ‘हेल्थ चेक’ र रिकभरीमा ध्यान « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

तन्नेरी सिद्धार्थ बैंक: व्यवसाय विस्तारभन्दा ‘हेल्थ चेक’ र रिकभरीमा ध्यान



नेपाली बैंकिङ क्षेत्र अहिले एउटा विशिष्ट मोडमा छ। बाह्य रूपमा तरलता सहज देखिए पनि आन्तरिक रूपमा बैंकहरू धेरै चुनौतीसँग जुधिरहेका छन्।

सिद्धार्थ बैंकको सन्दर्भमा कुरा गर्दा, हामी अहिले २३ वर्षको ‘तन्नेरी’ उमेरमा छौँ।

यो उमेर भनेको जोससँगै होस राखेर आफ्नो ‘हेल्थ चेकअप’ गर्ने बेला पनि हो।

यही पृष्ठभूमिमा म बैंकको वर्तमान अवस्था, आगामी रणनीति र बजारको वस्तुस्थितिलाई केही बुँदामा स्पष्ट पार्न चाहन्छु।

सञ्चालन खर्च र प्रतिस्पर्धी क्षमता

यदि हामीले तथ्याङ्कलाई मिहिन ढङ्गले केलाएर हेर्‍यौँ भने अपरेटिङ एक्सपेन्स (सञ्चालन खर्च) को पाटोमा सिद्धार्थको अंक अलि बढी हो कि जस्तो देखिन सक्छ। तर, यसलाई फरक ढंगले बुझ्न जरुरी छ।

हाम्रा केही प्रतिस्पर्धीहरू कस्ट कटिङ (खर्च कटौती) को जगमा माथि आएका हुन्, विशुद्ध व्यवसाय वा कमाइको वृद्धिको जगमा मात्र होइन। यदि हामीले आफ्नो बिजनेसलाई एउटा निश्चित ‘साइज’ मा ल्याउन सक्यौँ भने उनीहरूले हामीलाई भेट्टाउन कठिन हुनेछ।

हाम्रो कर्मचारी खर्च अहिले पनि समग्र बैङ्किङ उद्योगकै औसतभन्दा कम छ र भविष्यमा यो अझै घट्नेछ। हामी खर्च घटाउने भन्दा पनि आम्दानीको दायरा बढाएर दक्षता सिद्ध गर्ने बाटोमा छौँ।

लाभांश क्षमता र बजारको विश्वास

शेयरधनीहरूका लागि बैंकको लाभांश वितरण क्षमता मुख्य चासोको विषय हो। एउटा रिडेम्सन म्याच्योर भइसकेकाले यस पटक १५ प्रतिशत लाभांशको आधार त त्यसै तयार भइसकेको छ। त्यसमा सञ्चालन खर्चबाट आउने थप ५ देखि १० प्रतिशत जोड्दा बैंकको कुल लाभांश क्षमता २५ प्रतिशतसम्म रहन्छ।

बैंकले कति लाभांश वितरण गर्छ र कति जगेडा कोषमा राख्छ भन्ने निर्णय सञ्चालक समितिको होला, तर हाम्रो ‘सामर्थ्य’ भने बलियो छ। बजारले पनि हामीलाई विश्वास गरेको छ, त्यसैले त सिद्धार्थको शेयर मूल्य अहिले पनि उद्योगका उत्कृष्ट ४-५ वटा महँगा बैंकहरूको सूचीमै पर्छ।

रिकभरी र ‘स्पेस’ को खोजी

अहिले नेतृत्व सम्हाल्दै गर्दा मैले मेरो टिमलाई स्पष्ट भनेको छु- जहाँ हामी अलि कमजोर छौँ, पहिले त्यहीँ सुधार गरौँ। अहिलेको अवस्थामा ‘एग्रेसिभ’ बिजनेस एक्सपान्सन (व्यावसायिक विस्तार) भन्दा पनि ‘रिकभरी’ (पुरानो ऋण उठाउने) मा ध्यान दिनु बुद्धिमानी हुन्छ।

हाम्रो प्रोभिजन (सम्भावित नोक्सानी बापत छुट्याइएको रकम) रकम अलि ठुलो देखिएको छ। खराब कर्जा कम हुँदाहुँदै प्रोभिजन धेरै हुनुको अर्थ के हो भने, हामीसँग त्यहाँबाट ‘स्पेस’ निकाल्ने राम्रो अवसर छ।

सञ्चालन खर्चलाई रातारात जादुमयी ढंगले घटाउन नसकिए पनि कहाँ रिफाइन गर्न सकिन्छ भन्ने अध्ययन हामीले सुरु गरिसकेका छौँ। नेपाल राष्ट्र बैंकले दिएको ‘विन्डो’ प्रयोग गरेर धेरै नजिक रहेका हाम्रा १०-१२ वटा शाखाहरूलाई ‘क्लब’ (मर्ज) गर्ने सम्भावनाबारे हामी गम्भीर अध्ययन गरिरहेका छौँ।

नेतृत्व र संस्थागत संस्कार

सिद्धार्थ बैंकमा नेतृत्व परिवर्तन भए पनि कुनै ‘ड्रास्टिक’ वा अस्थिर परिवर्तन आउँदैन। यसको कारण हो- हाम्रो एउटै ‘स्कुलिङ’। बैंकको सिइओ र डेपुटी सिइओले विगत ३६ वर्षदेखि सँगै काम गर्दै आएका छौँ। हामी बजारमा अनावश्यक होहल्ला गर्दैनौँ र धेरै कन्जर्भेटिभ (पुरातनवादी) पनि छैनौँ।

बैंकिङमा ‘जियोमेट्रिक ग्रोथ’ (ज्यामितीय वृद्धि) खोजियो भने दुर्घटनाको जोखिम हुन्छ। त्यसैले हामी ‘अर्थमेटिक ग्रोथ’ (अंकगणितीय वृद्धि) मा विश्वास गर्छौँ।

सिद्धार्थ बैंकले २३ वर्षमा २ खर्ब ३५ अर्बको पोर्टफोलियो बनाउँदा बजारमा कुनै बैंकले एकै वर्षमा ९८ अर्बको क्रेडिट विस्तार गरेको पनि देखियो। यस्तो वृद्धि राष्ट्र बैंकको मौद्रिक नीतिसँग ‘सिंक’ (तादात्म्य) हुँदैन र यसले दीर्घकालीन जोखिम निम्त्याउँछ।

हाम्रो अर्को बलियो पक्ष भनेको ‘इन-हाउस’ टिम हो। हामी प्रायः म्यानेजमेन्ट ट्रेनीहरूबाट जनशक्ति लिन्छौँ र उनीहरूलाई हाम्रो आफ्नै संस्कारमा घुलमिल गराउँछौँ।

बाहिरबाट सिधै माथिल्लो तहमा मान्छे ल्याउँदा संस्थाभित्र ‘पोलिटिक्स’ सुरु हुने र कल्चरल एडजस्टमेन्ट (सांस्कृतिक अन्तरघुलन)मा समस्या हुने जोखिम रहन्छ। केही ठूला बैंकमा बाहिरबाट टिम ल्याएर एग्रेसिभ मार्केटिङ (आक्रामक विस्तार) गर्दा चमकधमक देखिए पनि भित्रि रूपमा ‘सिन्क्रोनाइजेसन’ को अभाव प्रष्ट देखिन्छ।

वर्तमान समस्या र राजनीतिक परिवेश

अहिले समग्र बैंकिङ क्षेत्रको टाउको दुखाइ रिकभरी नै हो। विशेषगरी लुम्बिनी र मधेश प्रदेशमा घरजग्गाको मूल्यमा आएको गिरावतले बैंकहरूलाई असर गरेको छ। यस्तो बेला ग्राहकसँग झगडा गरेर वा दबाब दिएर भन्दा पनि ‘एमिकेबल सेटलमेन्ट’ (सहमति) मार्फत अगाडि बढ्नु नै श्रेयस्कर हुन्छ। यसले बैंकको पुँजी फ्री हुन्छ र नयाँ स्रोत परिचालन गर्न सजिलो हुन्छ।

अन्त्यमा, देशको राजनीतिक अवस्थाले पनि अर्थतन्त्रलाई प्रभाव पारिरहेको छ। आम मानिसमा अहिले चरम निराशा र फ्रस्ट्रेसन छ। मानिसहरूमा एकपटक ‘नयाँ’ शक्तिलाई हेरौँ भन्ने हुटहुटी देखिन्छ, जसले गर्दा आगामी चुनावमा राजनीतिक समीकरण फेरिन सक्ने प्रक्षेपणहरू भइरहेका छन्।

राजनीति र अर्थतन्त्र एकअर्काका पूरक हुन्। स्थिर राजनीति र स्पष्ट आर्थिक नीति भएमा मात्र बैंकिङ क्षेत्रले पनि आफ्नो गति समात्न सक्छ।

(बस्याल सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्)


प्रतिक्रिया दिनुहोस्