एक वर्षमा साढे २ अर्बले घट्यो एनसेलको व्यापार, कर विवाद र लाइसेन्स नवीकरणको चुनौती कायमै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एक वर्षमा साढे २ अर्बले घट्यो एनसेलको व्यापार, कर विवाद र लाइसेन्स नवीकरणको चुनौती कायमै



काठमाडौँ । नेपालको निजी क्षेत्रको ठूलो दूरसञ्चार प्रदायक एनसेल आजियाटा लिमिटेडको सञ्चालन आम्दानीमा पछिल्ला वर्षहरूमा क्रमिक गिरावट देखिएको छ।

आर्थिक वर्ष २०२४ मा ३४ अर्ब ६८ करोड रुपैयाँ रहेको कम्पनीको आम्दानी आर्थिक वर्ष २०२५ मा घटेर ३२ अर्ब ५४ करोड ५० लाख रुपैयाँमा खुम्चिएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा एनसेलको आम्दानी करिब ६.१५ प्रतिशतले घटेको देखिन्छ। यस्तै, सन् २०२६ को पहिलो त्रैमासिकमा कम्पनीले ८ अर्ब १८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

आम्दानी घटे पनि कम्पनीको नाफा मार्जिन भने सन्तोषजनक रहेको इक्रा नेपालको प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार कम्पनीको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२४ मा ५४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२५ मा ५० प्रतिशत र सन् २०२६ को पहिलो त्रैमासिकमा ४९ प्रतिशत कायम भएको छ। त्यसैगरी, कम्पनीको खुद नाफा मार्जिन पनि मजबुत देखिएको छ।

आर्थिक वर्ष २०२५ मा कम्पनीले ५ अर्ब ४२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन कुल आम्दानीको करिब १६.७ प्रतिशत हुन आउँछ। सन् २०२६ को पहिलो त्रैमासमा भने कम्पनीको खुद नाफा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ रहेको छ।

कम्पनीको ऋण भुक्तानी गर्न सक्ने क्षमता र वित्तीय अवस्था निकै सबल देखिएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको ब्याज तिर्ने क्षमता ७.७ गुणा र ऋणको साँवा-ब्याज भुक्तानी गर्न सक्ने क्षमता २.८ गुणा रहेको छ।

कम्पनीसँग सन् २०२६ को जनवरी मध्यसम्ममा १३ अर्ब ३० करोड रुपैयाँ बराबरको पर्याप्त नगद मौज्दात रहेकाले अल्पकालीन दायित्व पूरा गर्न सहज देखिन्छ। उच्च लाभांश वितरणका बाबजुद एनसेलले आफ्नो खुद सम्पत्ति र कुल ऋणको अनुपातलाई आर्थिक वर्ष २०२५ सम्म ०.६ गुणामा सीमित राख्न सफल भएको छ, जसले कम्पनी आर्थिक रूपमा सुरक्षित रहेको पुष्टि गर्दछ।

यिनै सकारात्मक पक्षहरूलाई आधार मान्दै रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको रेटिङ पुनःपुष्टि गरेको छ। इक्राले कम्पनीको २० अर्ब रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘एल ए’ रेटिङ दिएको छ, जसले समयमै ऋण भुक्तानी गर्न सक्ने उच्च सुरक्षा र न्यून जोखिमलाई जनाउँछ। त्यस्तै, १२ अर्ब रुपैयाँ बराबरको अल्पकालीन ऋणका लागि ‘ए वान’ रेटिङ प्रदान गरेको छ, जुन सबैभन्दा उत्कृष्ट स्तरको रेटिङ हो।

यद्यपि, कम्पनीका अगाडि केही गम्भीर चुनौतीहरू पनि कायमै रहेका छन्। कर विवादसँग सम्बन्धित ८६ अर्ब रुपैयाँ बराबरको ठूलो आकारको सम्भावित दायित्व मुख्य जोखिमका रूपमा रहेको छ, जसमध्ये ६७ प्रतिशत हिस्सा विगतको स्वामित्व परिवर्तनसँग सम्बन्धित कर दाबीको छ।

साथै, सन् २०२९ सेप्टेम्बर १ मा सकिने अनुमतिपत्र नवीकरण सम्बन्धी अनिश्चितता र कानुनी प्रक्रिया पनि कम्पनीका लागि चुनौती बनेको छ। प्रविधिको विकाससँगै इन्टरनेट (डेटा) सेवाको प्रयोग बढे पनि भ्वाइस आम्दानीमा भएको गिरावटले कम्पनीको राजस्वमा आधारित बजार हिस्सा ५३ प्रतिशतबाट झरेर ५१ प्रतिशतमा पुगेको छ।


प्रतिक्रिया दिनुहोस्