ट्याक्सीको राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ‘नाइमा’ को असन्तुष्टि, सिडान बाहेकका सवारीलाई पनि अनुमति दिन माग
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ का केही व्यवहारिक र नीतिगत विषयमा संशोधनको माग गरेको छ।
नाइमाले हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमक्ष आफ्ना विस्तृत सुझावहरू औपचारिक रूपमा पेश गर्दै ट्याक्सी सेवा मापदण्डमा उल्लेखित साधारण, विशेष र विशिष्ट गरी तीनवटै वर्गका लागि तोकिएका प्राविधिक, सुरक्षा तथा सेवा सम्बन्धी विशिष्टीकरणहरू पूरा गर्ने सवारी साधनलाई विना अवरोध ट्याक्सी सेवामा समावेश गरिनुपर्ने माग गरेको छ।
नाइमाका अनुसार, २०८१ को मापदण्डमा ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा विभाजन गरिएको छ। जसमा सवारीको प्राविधिक पक्ष, सुरक्षा र सेवा सम्बन्धी स्पष्ट विशिष्टीकरणहरू तोकिएका छन्। ती तोकिएका मापदण्ड पूरा गर्ने जुनसुकै सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने कानुनी व्यवस्था रहेको संघले स्मरण गराएको छ।
हाल बागमती प्रदेशमा व्यवहारिक रूपमा सिडान प्रकारका सवारी साधनलाई मात्र ट्याक्सी सेवाको अनुमति दिइएको अवस्थाप्रति नाइमाले सरकारको ध्यानाकर्षण गराएको छ। राष्ट्रिय मापदण्डले तोकेका सबै प्राविधिक र सुरक्षा सम्बन्धी सर्तहरू पूरा गर्ने अन्य उपयोगी तथा यात्रुमैत्री सवारी साधनहरूलाई ट्याक्सी सेवाबाट बाहिर राख्नुपर्ने कुनै स्पष्ट आधार नदेखिएको नाइमाको तर्क छ। सिडान बाहेकका अन्य वर्गका सवारीलाई पनि अनुमति दिँदा ट्याक्सी सेवा प्रदायकले कार्य सम्पादनमा थप लचकता पाउने र यात्रुहरूले समेत आफ्नो समूहको आकार र आवश्यकता अनुसार थप विकल्पहरू प्राप्त गर्ने पत्रमा उल्लेख गरिएको छ।
विश्वका विभिन्न देशहरूमा फरक-फरक आकार र वर्गका सवारी साधनहरू ट्याक्सीको रूपमा सञ्चालन भइरहेको सन्दर्भ जोड्दै नाइमाले नेपालभित्रै पनि बागमती प्रदेश र अन्य सहरहरूबीच ट्याक्सी अनुमतिमा व्यवहारिक असमानता देखिएको जनाएको छ। मापदण्डमा उल्लेखित सबै सर्तहरू पूरा गर्ने सवारी साधनहरूलाई अनुमति प्रदान गरिएमा यात्रुहरूलाई पर्याप्त सुविधा, सामान राख्ने स्थान र अपाङ्गता मैत्री पहुँचयोग्यता सुनिश्चित हुने दाबी गरिएको छ। यसरी सबै वर्गका योग्य सवारीलाई अनुमति दिनु न्याय, समानता र सेवा विस्तारका दृष्टिले उपयुक्त हुने सुझाव नाइमाले दिएको छ।
नाइमाले मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्य र भावनाप्रति पूर्ण सम्मान व्यक्त गर्दै आफ्ना सुझावहरू उद्योगगत अनुभव र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रस्तुत गरिएको स्पष्ट पारेको छ। सुरक्षित, गुणस्तरीय र यात्रुमैत्री ट्याक्सी सेवा प्रवर्द्धनका लागि मन्त्रालयसँग निरन्तर सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको समेत संघले पत्रमार्फत जनाएको छ।












